हरिनगरमा पसल संचालकलाई प्रहरीले गरे निर्घात कुटपिट – Nagarikabhiyan : National News

हरिनगरमा पसल संचालकलाई प्रहरीले गरे निर्घात कुटपिट

अजमल अंसारी ।भुटाहा
सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर १ रामनगर भुटाहामा बन्दाबन्दीमा पसल चलाएको भन्दै एक जना संचालकमाथि प्रहरीले कुटपीट गरेको आरोप बाहिर आएको छ । बन्दाबन्दीको उलंघन गरेको आरोपमा प्रहरीले पसलका संचालक स्थानीय २१ वर्षीय असलम हुसेनलाई पसल भित्र पसेर सटर लगाइ निर्घात कुटपिट गरेको हो । प्रहरीले आफूलाई आफ्नो पसलमा नै थुनेर कुटपीट गरेको हुसेनले बताउनुभयो ।
लकडाउनको १६ औं दिन जेठ २ गते हुसेनले पसल खोलेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरीहरुले गस्ती अनुमगनको क्रममा जथाभावी रुपमा लठठी, बुटले कुटपिट गरेको हुसेनले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले जेठ २ गते करिब विहान १० बजेको समयमा गस्ती तथा लकडाउनको अनुगमन गर्ने क्रममा गाउँमा अन्य पसल खोलिएको भएता पनि प्रहरीले आफुलाई मात्र लक्षित गरेर कुटपिट गरेको आरोप लगाउनुभयो ।
सोही घटनाको क्रममा पीडितका हजुरबुबा ६९ वर्षीय करामुल हुसेनले आफ्नो नातिलाई किन कुटेको भन्दा प्रहरीले आफू माथि पनि लठठी चार्ज गरेको गुनासो गर्नुभयो । त्यसैगरी ४० वर्षीय आमालाई पनि लठठीले हिर्काएको पीडितका हजुरबुबाले बताउनुभयो ।

यता साबिर हुसेनले समेत पसले माथि प्रहरीले विना कारण लाठीचार्ज गरिएको घटनाप्रति खेद व्यक्त गर्दै घटनामा सलग्न प्रहरीलाई कारवाही गर्न माग गर्नुभएको छ ।
गाउँपालिका अध्यक्ष गफार मियालाई यस विषयमा जानकारी गराउदा प्रहरीले यस्तो गर्नु पर्दैन थियो परबाटै समझाई बुझाई पसल बन्द गर्न आग्रह गर्नु पर्थियो भनेर प्रतिक्रिया दिनुभयो ।
घटनाको बारेमा थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापालाई ९८५२०८५५५५ नम्बरमा २ पटक फोन गर्दा फोन उठेन ।