कोरोना भाइरस कसरी शरीरमा आक्रमण गर्छ ? किन मानिसको ज्यान जान्छ ? – Nagarikabhiyan : National News

कोरोना भाइरस कसरी शरीरमा आक्रमण गर्छ ? किन मानिसको ज्यान जान्छ ?

काठमाडौं। कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ। यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ ? यसका कारण किन मानिसको ज्यान जान्छ ?

मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ। त्यसलाई ’इन्क्युबेशन पीरीअड’ अथवा सङ्क्रमणकाल भनिन्छ। त्यो बेला भाइरसहरूले तपाईको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन्। यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईले सास फेर्दा कोरोनाभाइरस शरीरमा पस्न सक्छ। दूषित वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि कोरोनाभाइरस शरीरमा छिर्न सक्छ।

त्यसले पहिला तपाईको घाँटीभित्रका कोष, सासनली र फोक्सोलाई असर गर्न थाल्छ। बिस्तारै ती अङ्ग कोरोनाभाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन्। तिनले तपाईका थप कोषलाई आक्रमण गरेर तिनमा आफ्नो अधिकार स्थापित गर्छन्।

प्रारम्भिक अवस्थामा तपाई बिरामी पर्नुहुन्न। केही मानिसलाई त कहिल्यै कुनै लक्षण नै देखिँदैन। भाइरस स्थापित हुने सङ्क्रमणकालीन अवधि सरदर पाँच दिनको भएको पाइएको छ।

अधिकांश सङ्क्रमित मानिसले यो बेहोर्नुपर्छ।

कोभिड–१९ भन्ने रोग १० मध्ये आठ जनाका लागि सामान्य रोग हो। उनीहरूलाई रुघा लाग्ने र ज्वरो आउने गर्छ। शरीरका अङ्ग दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या हुन सक्छन्। तर ती लक्षण देखिन्छन् नै भन्ने छैन।

ज्वरो आउनु र असहज महसुस गर्नु तपाईको प्रतिरक्षा प्रणाली सक्रिय भएर त्यसले सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको परिणाम हो। यस्तो बेला भाइरस कुनै बाह्य तत्त्व हो भन्ने बुझेर त्यसविरुद्ध लड्न उक्त प्रणालीले साईटकाईन नामक प्रोटीन परिचालन गर्छ। यस्तो बेला प्रतिरक्षा प्रणाली पूरै सक्रिय हुन थाल्छ। तर सँगसँगै शरीरमा पीडा हुने र तापक्रम बढ्ने अर्थात् ज्वरो आउने हुन्छ।

कोरोनाभाइरस सङ्क्रमण भएको बेला सुक्खा खोकी लाग्छ। त्यति बेलासम्म भाइरसहरू कोषमा बिस्तारै सक्रिय हुन थाल्छन्। केही मानिसलाई खकार पनि आउन थाल्छ।

यस्ता लक्षण देखिएमा बिरामीलाई ओछ्यानमा आराम गर्न लगाइन्छ र पर्याप्त झोल कुरा खान दिइन्छ। प्यारासिटामोल पनि दिइन्छ। यति बेला अस्पताल नै लगेर विशेष उपचार गर्न आवश्यक हुँदैन। एक हप्तासम्म रहन सक्ने यो अवस्थामा प्रतिरक्षा प्रणाली सक्रिय भएका कारण अधिकांश बिरामीहरूलाई निको हुन्छ।

तर केही केहीलाई गम्भीर प्रकारको समस्या उत्पन्न हुन सक्छ।

यदि रोग अझै गम्भीर हुँदै गयो भने भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीको अधिक सक्रियता त्यसको कारण हुन सक्छ। प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले शरीरमा जलन हुन सक्छ। तर त्यसलाई सावधानीपूर्वक सन्तुलन मिलाउनुपर्ने हुन्छ। धेरै जलन भइरहे शरीरमा निकै धेरै हानि पनि हुन सक्छ। बिबिसी नेपाली न्यूजबाट।