वैशाख ५ गतेपछि शिक्षण संस्था बन्द हुनसक्छ:प्रदीप ज्ञवाली – Nagarikabhiyan : National News

वैशाख ५ गतेपछि शिक्षण संस्था बन्द हुनसक्छ:प्रदीप ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैशाख ५ गतेपछि शिक्षण संस्था बन्द हुनसक्ने बताएका छन् । कोरोनाको दोस्रो लहरको बढ्दो प्रभावबारे सरकार जानकार रहेको र बढी मानिसहरु भेला हुने ठाउँमा त्यसको संक्रमण छिटो फैलन सक्ने अवस्थालाई मध्यनजर गरी शिक्षण संस्थाहरु केही समयका लागि बन्द गर्ने सम्बन्धमा छलफल भइरहेको उनले बताए ।

नयाँ भर्ना सुरु हुन लागेको अवस्थामा शिक्षा व्यवसायीको दबावका कारण सरकारले शिक्षण संस्था बन्द गर्न नसकेको आरोपबारे सोध्दा मन्त्री ज्ञवालीले भने, ‘त्यस्तो किमार्थ होइन । हतारमा निर्णय गर्दा आम जनमानसमा नकारात्मक सन्देश जाने भएकाले यसबारे स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग छलफल भइरहेको छ । कोरोनाको दोस्रो लहरको बढ्दो प्रभावका बारेमा सरकारले सुक्ष्म अध्ययन गरिरहेको छ । कसैको दबाव वा प्रभावमा बालबालिका र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पार्ने काम सरकारले गर्दैन ।’

कोरोनाको दोस्रो लहर चलिरहँदा बालबालिका बढी जोखिममा देखिएको विज्ञ तथा अनुसन्धानकर्ताहरुको निश्कर्ष छ । यस्तोमा अभिभावक तथा नागरिकबाट शिक्षण संस्थाहरु बन्द गर्नुपर्ने आवाज उठिरहे पनि सरकारबाट त्यसको सुनुवाई हुन सकेको छ । सरकारमै पनि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीच शिक्षण संस्था बन्द गर्ने सवालमा फरक मत छ । स्वास्थ्य मन्त्री ह्रृदयश त्रिपाठीले तत्काल शिक्षण संस्था बन्द गर्न प्रस्ताव नै गरिसकेका छन् भने व्यवसायीको दबावमा परेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ बन्न गर्न नहुने पक्षमा छन् ।

मन्त्री ज्ञवालीले वैकल्पिक उपायहरुको खोजी गरी छिट्टै शिक्षण संस्थाहरु बन्द गर्ने सरकारको तयारी रहेको बताए । ‘हामी एक–दुई दिनभित्रै उचित निर्णय लिन्छौ,’ उनले भने । सरकारले आवश्यक निर्णय गरेर वैशाख ५ सम्ममा कार्यान्वयन प्रक्रियामै जाने उनले बताए । सागरमाथा दैनिक