होली के हो र यो किन मनाइन्छ ? यस्तो छ महत्व
१४ चैत्र २०७७, शनिबार १७:३०
काठमाडौं । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो ।
होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होलीको अवधीमा कुनै पनि शुभ कार्य जस्तै, मुण्डन, विवाह, घरको मुहूर्त, व्यापार प्रतिष्ठानको शुरुवात निषेध मानिन्छ । यस पटकको होली पहाडी जिल्लामा चैत १५ गते र तराईका जिल्लामा चैत १६ गते मनाइदै छ ।
होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । मान्यता अनुसार हिरण्यकश्यपका पुत्र प्रहलाद भगवान विष्णुका परमभक्त थिए । तर उनको विष्णु भक्तिबाट हिरण्यकश्यप आक्रोशित थिए । त्यसैले उनले आफ्नै पुत्र मार्ने योजना बनाई बहनी होलिकाको काखमा प्रहलाद बसाई अग्निमा बसाए । तर विष्णु कृपा प्राप्त भई होलिका जलेर भस्म भइन् भने प्रहलाद सुरक्षित भए । सोहि समयबाट होलिका दहको खुसीमा हरेक बर्ष होली मनाउने गरिन्छ ।
होली खेल्ने दिन भन्दा एकदिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।
होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । असत्यमाथि सत्यको जीत हुन्छ भन्ने होलीले पौराणिक सन्देश बोकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया