समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्याउन निर्देशन – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
२५ फाल्गुन २०७७, मंगलवार १६:३६
काठमाडौं । विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो नहुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्याउन निर्देशन दिएका छन् ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा मंगलबार पुगेका मन्त्री श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रले आफूले सुन्न नचाहेको बताए । कुनै पनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिने गरी पुस्तकको प्रकाशन गर्नुहोस्,’ उनले भने । दुर्गममा बर्सेनि पुस्तकको समस्या हुने भएकाले यसपटक त्यो सुधार गर्न अनुरोध पनि गरेका छन् ।
उनले भने, ‘यसले पुस्तक नै विद्यालयमा विद्यार्थीलाई समयमा दिन सकेन भन्ने ढंगको आलोचना धेरै आउने गर्छ । अब यो आलोचना विगतमा जे जस्तो आयो । विगतको मैले पास्ट इज पास्ट भनिसकेको छु । वर्तमानमा म यो कमेन्ट सुन्न चाहन्न । त्यसको लागि तपाईहरुलाई के अप्ठ्यारो छ ?’
पाठ्यक्रमबाट सामग्री नआएको हो भने ढिलाइ हुनेबारे पहल गर्ने निर्देशन दिए । उनले कुनै पनि पुस्तक छपाइ समयमा हुने र काठमाडौंमा बसेर कर्णालीको दुर्गम गाउँ सम्झनु भन्दै पुस्तक छपाइमा कत्ति पनि ढिलाइ नगर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । ‘यहाँ त सजिलै पाउनुहोला । सबभन्दा पहिला दुर्गम ठाउँमा किताबहरू सप्लाइ हुनुप¥यो । अब नयाँ शैक्षिक सत्र असार देखि सुरु हुँदैछ । १ कक्षादेखि १२ कक्षासम्मको पुस्तक प्रकाशन तपाईहरुले गर्नैपर्छ,’ मन्त्री श्रेष्ठले भने ।
त्यसैगरी जनक शिक्षा सामग्री केन्द्रलाई निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहन निर्देशन दिए । कुनै पनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उनले त्यसको लागि तयारी रहन आग्रह गरे ।
उनले भने, ‘सबै हामीले अहिले हेरेका मशिनहरुमध्ये निर्वाचन आयोगबाट प्राप्त गरेको मतपत्र छाप्नलाई राखिएको मशिनलाई तयारी अवस्थामा राख्नुहोस् । निर्वाचन आयोगले आदेश दिनेबित्तिकै मत पत्र छाप्नुपर्ने हुनसक्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया