‘अवैध’ भर्ना शुल्क फिर्ता नगरे जनता मावि विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी – Nagarikabhiyan : National News

‘अवैध’ भर्ना शुल्क फिर्ता नगरे जनता मावि विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयले लकडाउनको समयमा उठाएको ‘अवैध’ भर्ना शुल्क फिर्ता नगरे विद्यालय विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएकोे छ ।

लकडाउनको बीचमा पनि अग्रेजी माध्यामको नाममा गैरकानुनी रुपमा अभिभावकहरुबाट रकम असुल्ने काम तत्काल बन्द गरि लिएको रकम फिर्ता दिन नेपाल विद्यार्थी संघ सुनसरीले माग गरेको हो ।

‘विद्यालयको सहयोगको लागि’ भन्दै अभिभावकहरुबाट स्कुलको नाममा रहेको बैङ्क खातामा रकम जम्मा गर्न नैतिक दबाब दिँदै शुल्क उठाउन विषयमा नेपाल विद्यार्थी संघ सुनसरीको गम्भिर भएको नेविसंघका सुनसरी सभापति मन्दिप भट्टराईद्धारा जारी विज्ञप्तीमा भनिएको छ । अघिल्लो बर्ष भएको सहमती समेत उल्लंघन गर्दै विद्यालयले अभिभावकबाट उठाएको रकमको नेविसंले विरोध गरेको हो ।

विद्यालयले शैक्षिक सत्र २०७७ को प्रवेश परीक्षाको लागि आवेदन फारम भरेका विद्यार्थीबाट जनही १९ हजार ७५० को दरले शुल्क उठाएको भन्दै चौतर्फी विरोध हुन थालेको छ । बैकमा जम्मा गरेको उक्त रकम तत्काल फिर्ता गरि विद्यार्थी भर्नाको नाममा रकम असुल्ने काम तत्काल रोक्न समेत नेविसंघले चेतावनी दिएको होे । नेविसंघले गैरकानुनी काम गर्ने विद्यालयका प्रध्यानध्यापक छञपति ढुङ्गेलको राजनीनामा समेत माग गरेको छ ।

सामुदायिक विद्यालय अन्तर्गत यसरी १ देखि कक्षा १० सम्म कुनै शुल्क नलिइ विद्यार्थी पढाउनु पर्ने नियम छ । तर विद्यालयले अभिभावकहरुलाई सिधै फोन गरेर रकम जम्मा गर्न दबाब दिएको आरोप छ । लकडाउनको समयमा विद्यालयबाट रकम जम्मा गर्न भन्दै अभिभावकहरुलाई दवाव दिदै आएको पाईएको छ ।