बालबच्चालाई ताली मात्र होइन, गाली पनि – Nagarikabhiyan : National News

बालबच्चालाई ताली मात्र होइन, गाली पनि

बालबच्चालाई गाली गर्नु हुन्न । माया गर्नुपर्छ । सही हो । तर, कहिले काहीँ उनीहरुले जानी–बुझी खराब काम गर्छन् । गर्न नहुने काम गर्छन् । आमाबुवालाई टेर्दैनन् । जिद्दी गर्छन् । पारिवारिक बाध्यता बुझ्दैनन् ।

घण्टौं मोबाइलमा झुन्डिन सक्छन् । घरको खाना खान मान्दैनन् । दाँत ब्रस गर्न मान्दैनन् । अनेक अनेक माग गर्छन् । यी सबै कुरालाई चुपचाप मान्नुपर्छ ? उनीहरुले जे गरेपनि त्यसमा आमाबुवाले सही थाप्नुपर्छ ? उनीहरुले गल्ती गर्दा पनि गाली गर्नै हुँदैन ?

जब उनीहरुले गल्ती गर्छन्, जिद्दी गर्छन्, अटेर गर्छन् त्यसमा अभिभावकले कुनै प्रतिक्रिया नजनाउने हो भने उनीहरुमा एउटा खराब बानी विकास हुन्छ । उनीहरु सोच्न थाल्छन्, मैले जे गरेपनि हुन्छ । यही सोचाईले गर्दा उनीहरु अनुशासनहिन हुन पुग्छन् । पुल्पुलिन्छन् ।

त्यती मात्र होइन, आफुले जे गर्दा पनि हुन्छ भन्ने भावनाले गर्दा उनीहरु नचाहिने काम गर्न थाल्छन्, न नहुने मागहरु राख्न थाल्छन् । जब अभिभावकले ति कुराहरु पुरा गर्दिदैनन् उत्पात मच्याउन थाल्छन् ।

त्यसैले बालबच्चालाई सधै खुसी बनाउने वा माया गर्ने चक्करमा हरेक कुरा छुट गर्दै लानु उचित हुँदैन । कतिपय कुरामा उनीहरुलाई नियन्त्रण गर्नुपर्छ । हुनसक्छ, उनीहरुले नजानेर गल्ती गर्छन् । कमजोरी गर्छन् । घरको सामान टुटफुट गर्न सक्छन् । भान्साको खानामा भन्दा जंकफुडमा जोड दिन सक्छ । यो उनीहरुको अज्ञानताले पनि हो । त्यसैले जब उनीहरु अन्जानमा यस्ता गल्ती गर्छन्, तब किन ति कुरा खराब हो भन्ने कुरा अभिभावकले बुझाउन सक्नुपर्छ ।

उनीहरुले के गल्ती वा कमजोरी गरेका छन्, त्यसलाई छुट दिनुहुन्न । बरु के गल्ती गरे, कसरी गरे र त्यसको नतिजा के हुन्छ भन्ने कुरा बोध गराउनुपर्छ ।

मानौं, उनीहरुले घरको खाना खाएनन् । जंकफूडका लागि जिद्दी गरे । उनीहरुले यसकारण जंकफुड रुचाए कि, त्यो स्वादिलो लाग्यो । उनीहरुलाई त्यसको नराम्रो असरबारे जानकारी गराउन सक्नुपर्छ । जंकफुड खाएपछि शरीरमा के के असर गर्छ ? सुनाउनुपर्छ ।

मोवाइलमा झुन्डिरहेको छ भने पनि त्यसले आँखा, मस्तिष्क र समग्र शरीरलाई कसरी असर गरिरहेको छ भन्ने बुझाउनुपर्छ ।

यसको अर्थ उनीहरुलाई यी खराब बानीबाट जबरजस्ती छुटकारा दिलाउनुपर्छ भन्ने छैन । जंकफुड खानै नदिने, मोबाइल खेल्नै नदिने होइन । तर, त्यसको खराब प्रभावबारे उनीहरुलाई अनुभूत गराउनुपर्छ । उनीहरु आफ्नै निर्णयले ति कुराहरु छाडेको राम्रो हो ।

अति गर्नु पनि ठीक होइन । बेलाबखत जंकफुड खान्छु भन्दैमा त्यो खराब हुँदैन । मोवाइल पनि निश्चित समयका लागि खेलाउन सक्छन् ।

तर, कतिपय गल्ती वा कमजोरी उनीहरुले जानेर गर्छ भने त्यसमा छुट दिनु हुँदैन । गाली गर्नुपर्छ । जिद्दी गर्ने स्वभावका बच्चाहरुलाई प्रेमपूर्वक गाली गरेर पनि उनीहरुको खराब बानीबाट छुटकारा दिलाउन सकिन्छ ।

कहिले काहीँ अभिभावकहरुको रुखो र कडा  व्यवहारका कारण बालबालिकाहरुले गलत कदम उठाउँछन् । उनीहरु आफ्ना अभिभावकले आफुसंग गरेको व्यवहार मन नपरेपछि कहिलेकाहिं घर छाडेर अन्त कतै बस्ने गर्छन भने कहिले अभिभावकसंग बोलचाल नै बन्द गरेर धेरैभन्दा धेरै समय घर बाहिर नै बिताउन मन पराउँछन् ।

त्यस्तै कति बालबालिकाहरु आफ्नो घरबाट भाग्छन् । उनीहरुलाई प्रहरीले भेटेर परिवारलाई जिम्मा लगाउन खोज्दा आफु घर जान नचाहेको घटनाहरु पनि भेटिएको छ । उनीहरुलाई घर नजाने कारण सोध्दा आमा–बुबाको पढाईका लागि दवाव दिएको र घरको काम जवरजस्ती गराउने कारणहरु पनि रहेका छन् ।

तर आमा–बाबुको चाहना भने आफ्ना छोरा–छोरीहरुले राम्रो शिक्षा हासिल गरुन् र राम्रो आचरण सिकुन भन्ने नै हुन्छ । यो कुरा स्वभाविक पनि हो । । बालबालिकालाई पढ्नका लागि हरेक आमा–बुबाले धेरथोर गालि त गरि नै हाल्छन्, किनभने आमा–बुबालाई आफ्नो सन्तानको भविष्यप्रति चिन्ता हुन्छ । त्यसैले अभिभावकहरु आफ्ना बालबालिकालाई गालि गर्न वाध्य पनि हुन्छन् ।

के बालबालिकालाई उनीहरुको भलाईका लागि, पढाईका लागि गालि गर्नु एकदम गलत कुरा हो त ? बालबालिकाहरु घर छाडेर भाग्लन्, केही गलत गर्लान् भन्ने डरका कारण उनीहरुलाई गालि गर्नु आवश्यक छैन त ? अवश्य छ । बालबालिकाहरुलाई उनीहरुको नराम्रो कामका लागि गालि गर्नु एकदम सही हो, तर गाली गर्ने तरिका पनि सही हुनु पर्छ ।

यदि अभिभावकले आफ्ना बालबालिकालाई सामान्य कुरामा सामान्य तरिकाले गालि गर्छन् र ती बच्चाहरु घरबाट भाग्ने र कुनै अन्य कदम उठाउँछ भने,ती बालबालिकाहरु मानसिक रुपमा स्वस्थ हुँदैनन् । किनभने कुनै पनि बच्चा मानसिक रुपले स्वस्थ छ भने उसले आफ्नो अभिभावकको गालिका कारण यति ठुलो निर्णय गर्न सक्दैन । त्यसको पछाडि विभिन्न ठुला कारणहरु हुन सक्छन् । आनुवंशिक विकृति, घरको अशान्त वातावरण, साथीहरुको दवाव र सबैभन्दा मुख्य दिमागी रुपमा कमजोर हुनु अथवा कुनै प्रकारको मानसिक विकृतिको शिकार हुनु ।

बालबालिकालाई घरमा शान्तिपूर्ण र खुशीयाली वातावरण दिनु पर्छ । उनीहरुको अगाडि झगडा गर्नु, झगडाको क्रममा अपशब्दहरुको प्रयोग गर्नु, बालबालिकालाई गालि गर्नु अथवा कसैको कुरा काट्नु, बारम्बार एउटै कुराका लागि भनिरहनु आदि कुराहरुले बालबालिकाहरुलाई दिक्क बनाउन सक्छ । यी कुराहरुले उनीहरुको मन–मस्तिष्कमा नराम्रो असर पार्न सक्छ, जसका कारण उनीहरुको मनमा कुनै कुरा गाँठो परेर बस्छ र यस्तो अवस्थामा बच्चाले कुनै गलत कदम उठाउन सक्छ ।

बालबालिका र आमा–बुबाका बीचमा सञ्चार अथवा संवाद हुनु अति नै आवश्यक छ । प्रभावशाली र स्पष्ट तरिकाले भएको कुराकानी बालबालिकाको समस्याहरु सुल्झाउनका लागि सबैभन्दा उत्तम विकल्प मानिन्छ । त्यसैले बालबालिकाहरुसंग हरेक साना ठुला बिषयममा खुलेर, तर्कशील चर्चा गर्नु आवश्यक छ ।

बालबालिकाहरु जिज्ञासु हुन्छन् । उनीहरुको हरेक प्रश्नहरुको जवाफ दिने पूर्ण कोशिश गर्नु पर्छ । उनीहरुको साथीहरुसंग मुर्खता पूर्वक भएको झगडा, खेलौनासंग सम्बन्धित कुराहरु, उनीहरुको आधारहीन विचार, सपना र आदि कुराहरुलाई एकदम सजगतापूर्वक सुन्नु पर्छ । यसो गर्दा उनीहरुलाई आफ्नोपन प्राप्त हुने मात्र होइन खुशी पनि प्राप्त हुन्छ । यसो साथै तपाईंले आफ्ना बालबालिकाको स्वभाव र व्यवहारको बारेमा थाहा पाउने मौका पनि प्राप्त हुन्छ ।

उनीहरुलाई हरेक कुरामा कराइरहनु अनुचित 

बालबालिकाहरु विशेष गरेर टीनएजर्सलाई हरेक कुरामा टीका–टिप्पणी गरिरहेको मन पर्दैन । त्यसैले उनीहरुको दिनचर्याको एउटा समय तालिका बनाउनु पर्छ । जसमा केवल आफ्नो कडा नियममात्र राख्नु हुँदैन, त्यसमा बालबालिकाको इच्छालाई पनि समावेश गर्नु पर्छ । समय तालिका अनुसार आफुले पनि निश्चित दिनचर्याको पालना गर्नु पर्छ, जसले गर्दा बालबालिकालाई तपाईंबाट प्रोत्साहन प्राप्त होस् । राम्रोसंग पढ्न नसक्नु ,राम्ररी कुरा नबुझ्दा गालि गर्नु भन्दा के कारण यस्तो भएको हो भन्ने कुरा पत्ता लगाउनु पर्छ । उनीहरुको शिक्षकसंग कुरा गर्नु पर्छ । यदि समस्याको हल भेटिएन भने काउन्सलरको सहयोग लिनु पर्छ ।

बालबालिकामा काम गर्ने बानी

बालबालिकामा काम गर्ने बानी बसाल्नका लागि उनीहरुलाई तीन वर्षको उमेरबाट नै हल्काफुल्का रोचक काम गर्न लगाउनु पर्छ । जस्तै आफ्नो खेलौनालाई सही ठाउँमा राख्न सिकाउने अथवा स्वयंले खेलौना समेट्दा उनीहरुलाई सहयोग गर्न भन्ने । यसो गर्दा उनीहरुलाई आफ्नो काम स्वयं गर्ने इच्छा जागृत हुन्छ ।

विस्तारै विस्तारै उनीहरुलाई आफ्नो ब्याग प्याक गर्न, लुगाहरु समेट्न जस्ता काम सुम्पिनु पर्छ । खाना खाए पछि प्लेट उठाउन अह्याउनु पर्छ । तपाईंले भन्नु भएको काम पुरा भएपछि उनीहरुलाई पैसा अथवा कुनै पुरस्कार दिनु भन्दा उनीहरुको पिठ्यँ  थप्थपाउनु पर्छ । उनीहरुलाई राम्रो बच्चा भन्नु पर्छ र उनीकारु कामको प्रशंसा गर्नु पर्छ ।

बालबालिकालाई परिवारको महत्व बुझाउन

बालबालिकालाई परिवारको महत्व सम्झाउनका लागि सबै परिवारको सदस्या एकै साथ खाना खानु पर्छ । खाना खाँदा सकारात्मक कुरा गर्नु पर्छ । आवश्यकता भन्दा धेरै प्रेम दर्शाउनु हुँदैन । हरेक कुराका लागि पैसाको लालच दिनु हुँदैन । उनीहरुको व्यक्तित्वमा कुनै कमी–कमजोरी छ भने उनसलाई गालि गर्दा त्यो कुराहरु उजागर गर्नु हुँदैन ।

उनीहरुलाई निरुत्साहित गर्नु हुँदैन ।  उनीहरुलाई टेलिभिजनमा के हेर्न मन लाग्छ, कुन साथीहरु उनीहरुले मन पराउँदैनन् जस्ता कुराहरुको कारण थाहा पाउने कोशिश गर्नु पर्छ । उनीहरुका लागि गरिएको त्याग अथवा कुनै विशेष कामको बारेमा बारम्बार बताउनु हुँदैन । किनभने शब्द भन्दा व्यवहारको असर धेरै हुन्छ । त्यसैले उनीहरुलाई आफ्ना व्यवहारद्वारा अपनत्वको महसुस गराउनु पर्छ । बालबालिकाको सबै साथीहरुसंग भेट्नु पर्छ । उनीहरुको सबै साथीहरु व्यवहारको जानकारी राख्नु पर्छ ।

घरमा यदि तनावको वातावरण छ भने

घरमा तनावको वातावरण छ भने बालबालिका भित्र घरबाट टाढा रहने इच्छा जागृत हुन थाल्छ । कहिलेकाहिं बालबालिकाहरु मानसिक रोगको शिकार हुन्छन्, जसका बारेमा आमा–बुवालाई थाहा हुँदैन । एटेन्शन डिसअर्डर, डिस्लेक्सिया, स्पेसिफिक लर्निङ डिर्सबेलिटी, अटिजम, हाइपर एक्टिभिटी आदि प्रकारका मानसिक विकृतिहरु बालबालिकामा देखिन्छ । त्यसैले बालबालिकाको व्यवहार, रहनसहन अथवा शारीरिक रुपमा कुनै पनि अनौठो अथवा परिवर्तन महसुस भयो भने तुरुन्त परामर्शदाता अथवा मनोवैज्ञानिक कहाँ लैजानु पर्छ ।

स्रोत: अनलाइनखबर