काठमाडौंका तीन म्यानपावर कम्पनीमा छापा
१९ मंसिर २०७७, शुक्रबार १८:५१
काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौंका ३ वटा म्यानपावर कम्पनीमा छापा मारेर महत्वपूर्ण दस्तावेजहरु नियन्त्रणमा लिएको छ ।
विभागले स्काई अफ द वल्र्ड म्यानपावर प्रालि, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालि र सुर्खेत ओभरसिज प्रालिमा शुक्रबार छापा मारेको हो । वैदेशिक रोजगारीका लागि भिजिट भिसामा श्रमिक पठाउन लागेको सूचना प्राप्त भएपछि विभागको टोलीले छापा मारेको महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए ।
छापा मार्ने क्रममा विभागले इम्पावर ह्युमन र स्काई अफ द वल्र्ड म्यानपावरबाट श्रमिकका पासपोर्ट, कम्प्युटर, विभिन्न कागजात नियन्त्रणमा लिएको छ । तर सुर्खेत ओभरसिजका कर्मचारी भने अनुगमन टोली नपुग्दै कार्यालय बन्द गरेर भागेका थिए । अनुगमन गरिएका म्यानपावर कम्पनीलाई उचित जवाफसहित तत्काल कार्यालयमा उपस्थित हुन पत्र काटिएको छ । यसअघि गतसाता पनि राजधानीका तीन वटा म्यानपावर कम्पनीमा अवैध रुपमा अन्तर्वार्ता लिएर श्रमिक भर्नाको प्रक्रिया थालेको भेटिएपछि विभागले छापा मारेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया