पुसमा होला त हिउँदे अधिवेशन ? – Nagarikabhiyan : National News

पुसमा होला त हिउँदे अधिवेशन ?

काठमाडौं । संवैधानिक अनुसार आगामी महिना हिउँदे अधिवेशन गर्नुपर्ने प्रावधान छ ।

संसद्को एउटा अधिवेशन समाप्त भएको छ महिना नपुग्दै अर्को अधिवेशन प्रारम्भ हुनुपर्ने संवैधानिक प्रावधान छ । त्यसैले यसपालि हिउँदे अधिवेशन पुस १७ भित्र शुरु भइसक्ने अधिकारीहरूले बताएका छन् ।

संसद् सचिवालयका अनुसार पुसमा संसद्को हिउँदे अधिवेशन गर्नुपर्ने भएकाले कोरोनाभाइरस फैलिन नदिई बैठक गर्न आवश्यक तयारी भइरहेको छ ।

अधिवेशन पुस लागेपछि आह्वान हुने अनुमान गरिएको छ । तर, सरकारले अझै मिति तय गरिसकेको छैन ।

गत वैशाखमा शुरु भएको संसद्को बजेट अधिवेशन असार १८ सकिएको थियो ।

त्यसोत संविधानको धारा ९३ ले संसद्का दुईवटा अधिवेशनबीचको दूरी छ महिना बढी हुन नहुने व्यवस्था गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

तर, संसद् अधिवेशन शुरु गर्नैपर्ने बाध्यात्मक समयसीमा नजिक आइसक्दा समेत सरकारले संसद्को हिउँदे अधिवेशनको मिति तय गर्न सकेको छैन ।

गत साता प्रदेशसभाका सभामुख र उपसभामुखहरूसँग अनुभव आदानप्रदान गर्न आयोजित कार्यक्रममा कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संसद् अधिवेशन छिट्टै आह्वान हुने भन्दै आवश्यक तयारी पूरा गर्न संसद् सचिवालयलाई आग्रह गरेकी थिइन् ।