इनरुवा अस्पताल कार्यकर्ताको भर्ती केन्द्र बनेको भन्दै युवाहरु आन्दोलनको तयारीमा – Nagarikabhiyan : National News

इनरुवा अस्पताल कार्यकर्ताको भर्ती केन्द्र बनेको भन्दै युवाहरु आन्दोलनको तयारीमा

इनरुवा । सुनसरी सदमरुकाम इनरुवामा रहेको इनरुवा जिल्ला अस्पताल सुनसरीमा स्वास्थ्य सेवा भन्दा सास्ती बढेको भन्दैं स्थानीय युवाहरु आन्दोलनको तयारीमा जुटेका छन् ।

इनरुवा अस्पताल २५ सैयाबाट पचास शैयामा बढुवा भएको प्रचारबाजी भएपनि कार्यान्वयनमा नआएको र सेवा समेत पाउन नसकेको भन्दैं दबावका लागि युवाहरु आन्दोलनमा जुटेका हुन् ।

अस्पताललाई यहाँका नेकपा र नेपाली कांग्रेस दुबै पार्टीले आआफनो कार्यकर्ता भर्ती गर्ने थलोको रुपमा लिएकोले स्वतन्त्र नागरिकहरुले पटक पटक बिरोध गर्दै आएको बेला युवाहरुले आन्दोलनको तयारी गरेको बताइएको छ । अस्पताल बिरुद्ध आन्दोलनका लागि शुक्रवार इनरुवामा युवाहरुको भेला बोलाइएको युवा नेता दिलिपचन्द साहुले बताउनुभयो ।

साहका अनुसार इनरुवा अस्पतालमा स्थायी कर्मचारीको संख्या ५९ रहेकोमा अधिकांश दरबन्दी खाली रहेको छ । अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ११ औं तहका हुनुपर्नेमा ८ औं तहले जिम्मेवारी सम्हालिरहेको छ । डाक्टरको कुल दरबन्दी स्थायीमा ९ जना हुनुपर्नेमा हाल १ जना मात्रै स्थायी डाक्टर कार्यरत रहेका छन् । यहाँ ९ जना बिषयगत बिशेषज्ञ डाक्टर हुनुपर्नेमा १ जना मात्रै रहेको र त्यो पनि कार्यालय प्रमुखको जिम्मेवारीमा रहदाँ बिरामी हेर्ने फुर्सद नै नपाएको सेवाग्राहीको गुनासो छ । अस्पतालको सेवा दिनप्रतिदिन खस्कदैं गएको र रेर्फरल अस्पतालको रुपमा परिणत हुदैं गर्दा राजनीतिक कार्यकर्ता भर्ती केन्द्रमा भने अगाडी देखिएको छ ।

भौतिक संरचना राम्रो भएपनि काम गर्ने जनशक्ति अभाव रहेको र तलब भत्ता खाने करारका कर्मचारी अत्याधिक रहेकाले काम भन्दा कुरा मात्र ठुलो भएको सेवाग्राही अभिनन्द यादवको गुनासो छ । अस्पतालमा ५० जना भन्दा बढी व्यक्ति करारमा राजनीतिक सोर्सको आधारमा तलब खाइ रहेको श्रोतको दाबी छ ।

इनरुवा अस्पतालको सेवा प्रभावकारी नहुदाँ इनरुवा नगर र यस आसपासका नागरिक सामान्य रुघाखोकीको उपचारका लागी विराटनगर र धरान जान बाध्य भएको पाइएको छ ।

इनरुवामा राम्रो र स्तरीय सेवा नहुनुमा दरबन्दी अनुसारको स्थायी कर्मचारी र चिकित्सकको आपूर्ती नगर्नु , नगराउनु तथा करारका कर्मचारीहरु भएको स्थानीय भागवत साहुको गुनासो रहेको छ ।

अस्पताल श्रोतका अनुसार सरकारी दरबन्दीमा अस्पताल प्रमुख ११ औं तहका एक जना , बरिष्ठ कन्सलटेन्ट पीडियाटिरिसियन ९ औं वा १० औं तहका १ जना, बरिष्ठ कन्सलटेन्ट अब्सटेटिरिसियन एन्ड गाइनोकोलिजिस्ट ९ औं र १० औं तहका १ जना, बरिष्ठ कन्सलटेन्ट सर्जन ९ औं र १० औं तहका १ जना, प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन ९ औं र १० औं तहका १ जना, बरिष्ठ कन्सलटेन्ट साइक्याटिरिस्ट १ जना, बरिष्ठ कन्सलटेन्ट जनरल फिजिसियन १जना, बरिष्ठ रकन्सलटेन्ट एनेस्थेसियोलोजिस्ट १ जना, बरिष्ठ कन्सलटेन्ट रेडियोलोजिस्ट १ जना, मेडिकल अधिकृत ८ औं तहका ४ जना, फिजियोथेरापिस्ट १ जना, मेडिकल ल्याब टेक्नोलोजिस्ट १ जना, नर्सिङ अधिकृत १ जना, नायब सुब्बा १ जना,

लेखापाल १ जना, ल्याब टेक्निसियन ३ जना, मेडिकल रेकर्डर सुपरभाइजर १ जना, स्टाफ नर्स ६ जना, हेल्थ असिस्टेन्ट ५ जना, फार्मेसी सहायक १ जना, रेडियोग्राफर १ जना, खरिदार १ जना, डेन्टल हाइजिनिस्ट १ जना, बायोमेडिकल टेक्निसियन १ जना, ल्याब असिस्टेन्ट १ जना, अनमि ५ जना, एनेस्थेटिक सहायक १ जना, कम्प्युटर अपरेटर १ जना, हलुका सबारी चालक श्रेणी बिहिन १ जना, कार्यालय सहयोगी वा सो सरह श्रेणी बिहिन सहित ११ जना गरी कुल ५९ दरबन्दी रहेको छ । दरबन्दी भएपनि अहिले दरबन्दीमा १९ जना कर्मचारी मात्र कार्यरत रहेका छन् ।