घरघरमै भएपनि उदाउदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न – Nagarikabhiyan : National News

घरघरमै भएपनि उदाउदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न

इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका सहित चार नगरपालिका र दुई उपमहानगरपालिकाका स्थानीयहरुले घरघरमै छठ पर्व मनाएका छन् ।

शहरी क्षेत्रमा कोरोना जोखिम उच्च रहेकाले भन्दै विभिन्न उपमहानगर र नगरपालिकामा विगतमा नदि खोलामा हर्सोलासका साथ मनाउदै आएको छठ पर्व यसपाली घरघरमै भएपनि पोखरीको प्रतिक बनाएर सनिबार उदाउदो सूर्यलाई अर्घ दिएर मनाएका छन् । उदाउँदो सूर्यलाई अर्घ दिएपछि यहाँका सर्वसधारणले आस्थाका साथ मनाइने चाड छठ पर्वको समापन गरिएको छ । चतुर्थीबाट शुरू भएको छठ पर्व षष्ठीका दिन बेलुकी अस्ताउँदो र सप्तमीका दिन सनिबार विहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरेपछि आस्थाको महापर्व छठ समापन भएको हो ।

महिलाको अगुवाइमा समाज र परिवारको हितको सङ्कल्प गरि मनाइने छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अभिनन्दन गर्नुले जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा अर्थ दिने भएकाले सामूहिक रुपमा मनाउदै आएको पर्व यसपाली कोरोनाले केही प्रभावित भएको बताइन्छ । सूर्यलाई दिइने अर्घमा विभिन्न प्रकारका फलफुल मिठाइहरू समावेस गरि घर आगनमै पोखरीको प्रतिकमा अर्घ दिएका छन् ।

कोरोना कहरका बीचमा समेत यहाँका छ गाउँपालिकाका स्थानीयहरुले भने नहर र पोखरी तथा केहीले आफ्नै घर अगाडी सानो पोखरी बनाएर अर्घ दिएका छन् । यहाँका वतार्लुहरुले अर्घको रूपमा प्रयोग गरिने मिठाइ तथा फलफुलको ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु प्रतिकका रूपमा मान्ने गरिएको बताइएको छ ।

नदि तथा जलासयमा घाट बनाएर मनाइ यो पर्व यसपट भने कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै अधिकांश ब्रतालुहरुले घरमा कृतिम जलासय निर्माण गरि उदाउँदो तथा अस्ताउँदो सूर्यलाई अर्घ दिएका स्थानीय शिक्षक देवकृष्ण यादवले बताउनुभयो । यादवका अनुसार शंकरपुर शाखामा भने सामाजिक दुरीकायम गरी घाट बनाएर उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न गरेका छन् ।
कोरोनाका कारणले जोखिम बढेको भन्दै खोला, नहर र नदीमा छठ घाट निर्माणमा रोक लगाएपछि धेरैले घरमा नै घाट बनाएर छठ पुजा गरेका छन् ।

शनिवार सदरमुकाम इनरुवा सहित देवनागञ्ज, हरिनगर, वर्जु, गढी, कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा छठको घाट स्थानीयहरुले घरघरमा नै बनाएर सूर्यलाई अर्घ दिएका छन् ।