देवानगञ्जमा माटो शिविर तथा बाली उपचार कार्यक्रम सम्पन्न
२२ जेष्ठ २०८३, शुक्रबार १८:३५
देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिकामा एक दिने माटो शिविर तथा बाली उपचार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्रको आयोजना र देवानगञ्ज गाउँपालिका कृषि शाखाको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
स्थानीय किसानहरूलाई आफ्नो खेतको माटोको स्वास्थ्य अवस्था बुझ्न र बालीनालीमा लाग्ने रोगव्याधिको पहिचान गरी नियन्त्रणका उपायहरू सिकाउने उद्देश्यले यो शिविर आयोजना गरिएको हो।
शिविरमा स्थानीय किसानहरूले आफ्नो खेतबाट संकलन गरेर ल्याएका माटोका नमूनारूको नि:शुल्क परीक्षण गरिएको थियो। माटोमा रहेको अम्लीयपन, क्षारियपन र मुख्य पोषक तत्वहरूको अवस्था जाँच गरी विशेषज्ञहरूले सुधारका लागि उपयुक्त सुझाव र सिफारिस समेत दिएका थिए। यसैगरी, बाली उपचार शिविर अन्तर्गत किसानहरूले रोग र किराले सताएका विभिन्न बालीनालीका नमूनाहरू प्राविधिक टोलीलाई देखाएर तत्कालै समाधानका उपाय र परामर्श प्राप्त गरे।
कार्यक्रमका प्रमुख अतिथि एवं देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले गाउँपालिकाको मुख्य आधार नै कृषि भएकाले किसानको समस्या समाधान गर्न स्थानीय सरकार सधैं तत्पर रहने बताउनुभयो।
गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले भन्नुभयो:
हाम्रो देवानगञ्जका अधिकांश नागरिक कृषिमै निर्भर हुनुहुन्छ। परम्परागत खेती प्रणालीले मात्र अब किसानको आर्थिक अवस्था सुध्रिन सक्दैन। माटोको स्वास्थ्य नबुझी जथाभावी मल प्रयोग गर्दा एकातिर लगानी खेर गइरहेको छ भने अर्कोतिर माटोको उर्वराशक्ति बिग्रिँदै गएको छ। यो शिविरले किसानहरूलाई आफ्नो माटो र बालीको समस्या बुझ्न ठूलो मद्दत पुर्याएको छ। आगामी दिनमा गाउँपालिकाका सबै वडाका किसानको पहुँच पुग्ने गरी यस्ता प्राविधिक शिविरहरूलाई हामी थप विस्तार गर्दै लैजानेछौँ।”
शिविरमा सहभागी स्थानीय किसानहरूले पनि गाउँघरमै विशेषज्ञ टोली आएर माटो परीक्षण र बालीको उपचार विधि सिकाइदिएकोमा खुसी व्यक्त गरेका थिए।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रतिनिधि, गाउँपालिकाका जनप्रतिनिधि, कृषि शाखाका कर्मचारी र स्थानीय किसानहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया