नागरिकले महसुस गर्नेगरी काम गर्दैछौँ : उपप्रधानमन्त्री सिंह
१ भाद्र २०८१, शनिबार १२:५१
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरु बनाइरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित बधाई ज्ञापन कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारले अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरु बनाइरहेको बताए ।
उनले आम नेपालीको अपेक्षालाई मूर्त रुप दिन वर्तमान सरकार बनेको जिकिर गरे। उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए।
उनले आफूहरु पदमा गएर झण्डा फर्फराएर, आनन्द लिनका लागि राजनीतिमा नलागेको भन्दै देशको अवस्थालाई राम्रोसँग बुझेर भएका अफ्ठ्यारा पन्छाएर जनतालाई राहत दिन अघि बढिरहेको बताए। उनले परिवर्तनको महशुस हुनेगरी काम गर्न सबैको सद्भाव आवश्यक रहेको बताए।
उनले भने, ‘वर्तमान सरकारले खासगरी अर्थतन्त्रमा नैराश्यता मन्दी जस्तो भइरहेको थियो, त्यसलाई चिर्न, कार्यक्रम,नीतिहरु अघि बढाउनेछौँ। त्यतिमात्रै नभइकन यो अहिलेको सरकार देशमा आफूले मेहनत गरेर काम गर्ने वातावरण बनाइदिन आम नेपालीको भनाइलाई मूर्त रुप दिन सरकारले सकेको प्रयास गरिरहेको छ। देशको अर्थतन्त्रमा सुधार ल्याउन पनि सामाजिक रुपमा हुनुपर्ने काममा बाधा अड्चन सबैलाई हटाउन, देशमा भइरहेको सुशासन हुने ठाउँमा हुन नसकेको त्यसलाई सुशासन महशुस गराउन योभन्दा अगाडिको परिस्थितिमा जुन अवस्थामा गइरहेको थियो, त्योभन्दा राम्रो गर्न यो सरकारले काम गर्छ।’
उपप्रधानमन्त्री सिंहले काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रको विकास निर्माणका काममा प्रभावाकारीताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए। वर्तमान सरकार सरकार नै राम्रोसँग नटिक्ने जनताको गुनासोपछि संसदको सबैभन्दा ठूलो दल काँग्रेस र एमाले मिलेर सरकार गठन गरेको बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया