विराटनगरको खानेपानीको गुणस्तर सुधार गर्न जापान सरकारको अनुदान – Nagarikabhiyan : National News

विराटनगरको खानेपानीको गुणस्तर सुधार गर्न जापान सरकारको अनुदान

विराटनगर ।  विराटनगरको खानेपानीको गुणस्तर सुधार गर्न जापान सरकारको अनुदान सहयोगमा २ अर्ब ५४ करोड रुपैयाँको खानेपानी आयोजना निर्माण शिलान्यास भएको छ  । जापान सरकारको सहयोग नियोग जायीकाको अनुदान सहयोगमा सञ्चालनमा आएको आयोजनाको शुक्रबार सङ्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले विराटनगरमा शिलान्यास गरे । सङ्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनु भएको छ । जापान सरकारको दुई अर्व २९ करोड १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा नेपाल खानेपानी संस्थानद्वारा निर्माण हुने विराटनगर खानेपानी सुधार आयोजनाको आज शिलन्यास गर्दै उनले अहिले पनि पिठ्यु तथा ढोकामा पानीको ग्रागो बोकी खानेपानी ल्याउने समस्याको सम्बन्धित स्थानमा अन्त्य गर्नका लागि मन्त्रालयले कार्य अगाडि वढाइरहेको जानकारी दिए ।
मन्त्री राईले सरकारले ल्याएको सबै नेपाली जनतालाई ‘एक घर, एक धारा ’ नीतिलाई सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय पालिकाले तीव्र रुपमा कार्य शुरु गरेको बताए ।
मन्त्री राईले आयोजनाले नगरवासीले गुणस्तरीय खानेपानी प्राप्त गर्ने भएकोले यसलाई समयमा सम्पन्न सबैले आफ्नो ठाउँबाट सक्रिय सहयोग गर्नुपर्नेमा जोड दिए । उनले जापान सरकारले नेपाली जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउनका लागि सहयोग उपलव्ध गराएको मा धन्यवाद समेत दिए ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले वर्तमान सरकार नेपाली जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन सम्बेदनशील रहेको बताए ।
कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले जापान सरकारलाई ग्रामीण क्षेत्रका जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउनका लागि सहयोगको आग्रह गरे । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले आयोजनाबाट नगरवासीले स्वच्छ खानेपानी पिउन पाउँदा हर्षित हुने बताइन् ।उपमेयर कार्कीले विराटनगरमा ३० वर्ष पुराना खानेपानीका संरचनाहरू र पाइपलाईनका कारण नगरवासीले स्वच्छ पानी पीउन नपाएको बताइन् । कार्कीले भनिन्‘ नयाँ आयोजना सुरूभएसँगै विराटनगरमा लामो समयदेखि देखिएको खानेपानीको समस्या समाधान हुनेमा महानगरपालिका विश्वस्त रहेको छ ।’

जापानिज राजदूतावासका ताकाहिरोतामुरा र जाईका नेपाल कार्यालयका चिफ रिप्रेजेन्टीज अकिमिक्सु ओकुबोले नेपाली जनतालाई स्वच्छ, गुणस्तरीय खानेपानी उपलव्ध गराउनको लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त्त गर्दै आगामी दिन थप क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरे । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले विराटनगरमा खानेपानी संस्थान अन्तर्गतका भइरहेका संरचनाको सुधार गर्ने, खानेपानीका ओभरहेड ट्याङ्की, पाइपलाईन र फिल्टरहरू थप गर्ने योजना अनुसार खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । उनले आयोजना समयमै सम्पन्न गर्न सहयोगका लागि विराटनगर महानगरपालिका, स्थानियवासीहरूलाई आग्रह पनि गरे । जापानको सिमिजु कर्पोरेशनले निर्माण गर्ने उक्त्त आयोजनाले दैनिक दुई करोड लिटर पानी उपलव्ध हुनका साथै नगरका वडा नं १ देखि १६ सम्मका जनताले खानेपानी उपलव्ध हुने सस्थानका महाशाखा प्रमुख कमल थापाले जानकारी दिए । नेपाल खानेपानी संस्थान संचालक समितिका अध्यक्ष गुणाखर भुषाल,संस्थानका निमित्त महाप्रवन्धक त्रिदिपकुमार श्रेष्ठ र विराटनगर –१ का वडा अध्यक्ष काजीबहादुर बस्नेतले आयोजनाबाट नगरवासीको स्वच्छ खानेपानी पिउने लामो समयदेखिको सपना सकार हुने विश्वास व्यक्त्त गरे ।
आगामी सन् २०२६ मे ३१ मा सम्पन्न हुने उक्त्त आयोजनावाट एक लाख नगवासीले गुणस्तरीय एवं स्वच्छ खानेपानी प्राप्त गर्ने छन् ।