यस वर्ष छठ पर्वमा सुनसरी खोला घाट सुनसान
४ मंसिर २०७७, बिहीबार १६:५८
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ४ स्थित रहेको सुनसरी खोलामा घाट निर्माण नभएपछि सुनसान देखिएको छ ।
प्रत्येक वर्ष इनरुवाबासीको एक मात्रै ठूलो छठ घाटको रुपमा रहेको सुनसरी पुल दायाँ बायाँ घाटमा यस वर्ष कोरोना कहरका कारण घाट निर्माणमा रोक लगाएपछि सुनसान देखिएको हो । यहाँ छठ पर्व मनाउनका लागि घाट निर्माण गरेर पूजापाठ गर्दै नाँचगान समेत हुदैं आएकोमा यस वर्षभने घाट निर्माण नहुदाँ सुनसरी खोला सुनसान देखिएको स्थानीय संजय यादवले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना महामारीलाई मध्यनजर गर्दै सामुहिक रुपमा छठ पर्व मनाउन रोक लगाएपछि इनरुवाबासीहरु सुनसरी खोलामा घाट निर्माण नगरेकाले सुनसान देखिएको स्थानीय यादवको भनाई रहेको छ ।
गत वर्ष सुनसरी खोलामा धुमधामका साथ छठ पर्व मनाएपनि यस वर्षभने छठ पर्वको रौनक देखिएको छैन् । आज छठ पर्वको दोश्रो दिन अर्थात खर्ना भएपनि सुनसरी खोलामा घाट निर्माण भएको देखिएको छैन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीले बैठक बसी सामुहिक रुपमा छठ पर्व मनाउन रोक लगाएपनि सर्वसाधारणहरुले आ आफनो घर अगाडी खाल्डो खनी त्यसमा पानी हाली छठ पर्व मनाउने तयारीमा जुटेको स्थानीय मनिष देवले जानकारी दिए । देबका अनुसार सुनसरी खोलामा ठूलो भीडभाड हुने भएकाले आफूहरुले इनरुवा २ को आफनै घर अगाडी सानो पोखरी बनाई छिमेकीहरु मिलेर छठको तयारी गरिएको हो ।
भोली शुक्रवार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र शनिवार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न हुने भएको छ ।
ब्रतालु पुरुष तथा महिलाहरुले यस पर्वमा तरकारी सहित सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारी लगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ । यो पर्व एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ । खासगरी मनोकामना पूर्ण भएपछि यो पर्व शुरु गर्ने चलन रहेको छ ।
सुनसरी खोलामा प्रत्येक वर्ष बेहुली झै सिगांरिएको घाट यसवर्ष भने घाटमा कुनै सुरसार समेत देखिएको छैन् । इनरुवाबासी लगायत आसपासका सर्वसाधारणहरुले घाट निर्माण गरी धुमधामका साथ सुनसरी खोलामा छठ पर्व मनाउने गर्थे तर यसवर्ष कोरोनाको उच्च जोखिम रहेकोले सुनसरी प्रशासनको उर्दीलाई मध्यनजर गर्दै त्यहाँ कोही कसैले गएर घाट बनाउने आँट समेत गरेका छैन् ।
सुनसरी खोलामा प्रत्येक वर्ष सरसफाई गरेर छठ पूजा समितिले पनि सक्रियता देखाउने गरेको थियो तर आज खर्ना दिनसम्म पनि पूजा समितिले प्रशासनको उर्दीलाई कायम राखी कुनै वास्ता गरेको छैन् । यसपालि सरसफाई समेत गरिएको छ्रैन् । छठ पर्व मनाउनेहरुले आफनो इच्छा अनुसार घर नजिकै सामाजिक दुरी कायम गरी घाट निर्माण गरेर मनाउने गरेको समाचार श्रोतले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया