सीमा विवादपछि पहिलो पटक आमनेसामने हुँदै मोदी र सि जिनपिङ
२ मंसिर २०७७, मंगलवार १४:००
काठमाडौं । सीमा विवादपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङ आमनेसामने हुने भएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अध्यक्षतामा हुन लागेको ब्रिक्स सम्मेलनको क्रममा मोदी र सि आमनेसामने हुन लागेका हुन् ।
ब्रिक्स स्थापनापछि पहिलो पटक भर्चुअल रुपमा मस्कोले ब्रिक्सको १२ औं शिखर सम्मेलनको आयोजना गर्दैछ । सम्मेलनमा सदस्य राष्ट्रहरु ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता हुँदैछ ।
यस सम्मेलनमा विश्वब्यापी मुद्दाहरुका साथै कोभिड–१९ पान्डेमिकविरुद्धको लडाई, प्रति आतंकवाद, व्यापार, उर्जालगायतका क्षेत्रमा बहुपक्षीय छलफल हुने बताइएको छ ।
बीबीसी हिन्दीमा उल्लेख भएअनुसार पछिल्लो एक महिनामा मोदी र सी आमनेसामने हुन लागेको यो दोस्रो पटक हो । यद्यपि यस सम्मेलनका क्रममा चीन र भारतबीच द्वीपक्षीय छलफल हुने सम्भावना भने न्यून छ ।
सम्मेलन अगाडि नै रुसले सम्मेलनमा द्वीपक्षीय मुद्दामा छलफल नहुने स्पष्ट पारिसकेको भने भारत र चीनले सम्मेलनमा सहभागिताको फाइदा लिन सक्ने बीबीसी हिन्दीले जनाएको छ ।
त्यस्तै रियादले २१–२२ नोभेम्बरमा जी २० सम्मेलनको आयोजना गर्दै छ । यो सम्मेलनमा पनि दुई नेताहरुबीच आमनेसामने हुने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया