विद्यालय शिक्षा विधेयक समन्वय नगरी ल्याइयो – Nagarikabhiyan : National News

विद्यालय शिक्षा विधेयक समन्वय नगरी ल्याइयो

काठमाडौँ :

सरोकारवालाहरूले विद्यालय शिक्षा विधेयक ल्याउँदा समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।

विधेयक संसद्‌मा दर्ता भए पनि विधेयक ल्याउँदा समन्वय नगरेकोमा असन्तुष्टि जनाएका हुन्। सरोकारवालाले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बालकक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

शिक्षाविद् डा। विद्यानाथ कोइरालाले विधेयकमा कतिपय विषय सकारात्मक रहेको र केही विषय छुटेको बताए। उनले विधेयकमै शिक्षक अब पेशाकर्मी बन्ने कुरा उल्लेख भएको बताए। उनले राजनीतिक चेतना भएको शिक्षक चाहिए पनि राजनीतिक दलबाट प्रेरित शिक्षक नचाहिने बताए।

कोइरालाले राजनीतिक चेतना भएको, राजनीतिलाई विश्लेषण गर्नसक्ने र समालोचकीय दृष्टिकोणबाट हेर्नसक्ने शिक्षक अबको आवश्यकता रहेको औँल्याए। उनले शिक्षकहरू राजनीतिक फाइदाका लागि आन्दोलनमा होमिने गरेको बताए। केही शिक्षकले स्वतः स्थायी हुनुपर्ने माग राखेको भन्दै यो नचाहिने कुरा मात्रै भएको बताए।

कोइरालाले भने, ‘शिक्षकहरू आन्दोलित हुनुका पछाडि उनीहरूले राजनीतिक फाइदा लिइरहेको बुझिन्छ। राजनीतिक दलले शिक्षकको भ्रातृसंगठन चाहिएन, कर्मचारीको भ्रातृसंगठन चाहिएन भन्यो भने सबै कुरा सल्टिन्छ।’

शिक्षकले स्थानीय तहको अधीनमा बस्दैनौँ भन्न नपाइने उनको भनाइ थियो। त्यसो भए शिक्षक संघले विकेन्द्रीकरण र संघीयता भनेको बुझाइदिनुपर्ने उनको कथन छ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा विधेयककको स्वागत गरे। उनले विधेयक आउने प्रक्रिया भने गलत भएको बताए। उनले अभिभावकको प्रतिनिधिबाटै विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुने विषय सकारात्मक भएको बताए।

अध्यक्ष भण्डारीले संसदीय समितिमा सरोकारवालालाई छलफलका लागि बोलाउनुपर्ने बताए। उनले विधेयकमा अपनत्व हुन सबै सरोकारवालालाई विधेयकमाथि दफावार छलफल हुनुपर्ने बताए।

भण्डारीले भने, ‘यो विधेयक ढिलो गरी आएको छ तर सरोकारवालासँग परामर्श नगरेर आयो। सरोकारवालालाई छलफल गरेर संसदीय समितिमा छलफल गरियोस्। ऐन नआएर धेरै अवरोध भइरहेको छ। अपनत्व हुनलाई सबै सरोकारवालालाई समेटेर जानुपर्छ।’

शिक्षक महासंघका सहसचिव प्रताप ताम्राकारले सरकारले ल्याएको शिक्षा विधेयक शिक्षक, विद्यार्थी र अभिभावकको हकहित विपरीत रहेको बताए। उनले सरोकारवालालाई हानि हुने गरी विधेयक आएको बताए।