आज देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द हुने – Nagarikabhiyan : National News

आज देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द हुने

आज देशैभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुन लागेको हो ।
हेटौडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक सङ्घले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो ।

शनिवार जारी गरिएको विज्ञप्ति अनुसार मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन थालिएको सङ्घको भनाइ छ । सङ्घका अनुसार गत भदौ २७ गते डा विकास थापा र डा प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा साङ्घातिक आक्रमण गरिएको सङ्घले स्मरण गराएको छ ।

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन सङ्घले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै सङ्घले आजको आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम गरेको हो ।

सङ्घका अनुसार देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडी सारेको छ ।