निलो माइक्रो चालकको दादागिरी अपमानित हुँदै यात्रा गर्छन् यात्रु – Nagarikabhiyan : National News

निलो माइक्रो चालकको दादागिरी अपमानित हुँदै यात्रा गर्छन् यात्रु

पुजा माझी-रत्नपार्कबाट गौरी घाट हुँदै नारायणटारसम्म चल्ने निलो माइक्रोका चालकहरूको दादागिरी पछिल्लो समय निकै मौलाएको पाइएको छ । उनीहरूले यात्रुमाथि आफ्नो धमास देखाउँदै मनपरी रूपमा माइक्रो चलाउने र यात्रुहरूलाई मनपरी बोल्ने गरेको खुलेको हो ।
रत्नपार्कबाट जम्मुडाँडा तर्फ जाने निलो माइक्रोको रुटमा अन्य सवारी साधन भित्र्याउँदा माइक्रो व्यवसायीहरूले आन्दोलन गरेर हटाएको सर्वसाधारणहरू बताउँछन् ।

सधैँ सानो गाडीमा कोचिएर, झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनीहरूले बताए । उनीहरूका अनुसार निलो माइक्रो चालकहरू धेरै रिसाहा हुने यात्रुहरूसँग रिसाउने, झर्किने गर्ने गर्छन् ।
आफू माइक्रोबाट ओर्लँदा माइक्रो चालकले आफ्नो फिर्ता पैसा भुँमा फालिदिएको भन्दै एक यात्रु निर्मला राईले गुनासो पोखिन् । उनका अनुसार उनी जम्मुडाँडाबाट रत्नपार्क जाने ६२०० नं को निलो माइक्रोमा चढेकी थिइन ।

उनी पुरानो बानेश्वर मा नै उत्रिने भएकाले १०० रुपैयाँको नोट गौशाला आइपुग्दा नै दिइन । उनले यात्रा गरेबापत २५ रुपैयाँ लाग्ने थियो तर त्यस चालकले उनको पैसा तत्काल फिर्ता दिएनन् जब उनको झर्ने ठाउँ आइपुग्यो उनी माइक्रोबाट ओर्लिइन तब तत्काल उक्त चालकले उनको पैसा भुँमा फुत्त फालिदिएर गए । उनी भन्छिन्, ‘वरपरका सबैले मलाई नै हेरिरहेका थिए । के बोल्ने के गर्ने मैले केही सोच्नै सकिनँ पैसा रोड छेउको नालामा थियो चुपचाप उठाए । तर धन्न मैले त्यस निलो माइक्रोको नम्बर चाहिँ याद गर्न सके ।’

प्राय सबैजसो यात्रा गर्ने एक सरस्वती थापाले निलो माइक्रो चालकहरूले मनपरी गाडी चलाउने गरेको बताएकी छिन । उनले भनिन, ‘खै रुटमा चल्ने गाडी त भन्छन् तर मनलागी चलाउँछ । डाइभरहरुले मित्र पार्कसम्म मात्र जान्छ भन्छन् अनि रत्नपार्कसम्म जान्छन् । कहिले पशुपतिमा नै सबै यात्रुलाई ओरालीदिन्छन र यहाँबाट जाँदैन भनेर पठाइदिन्छन् ।’

उनले निलो माइक्रो चालकहरूले यात्रुहरूमाथि अराजक व्यवहार गरिरहेको बताइन ।
त्यस्तै अफिस जाँदा कहिल्यै पनि समयमा निलो माइक्रो नपाइने विकास थापाको गुनासो छ उनको अफिस कमलादीमा छ तर उनी सर्वेश्वर बस्छन्, अफिस जाने समयमा आफूले कहिल्यै पनि सिटमा बसेर यात्रा नगरेको र समयमा गाडी नपाएको उनले बताए ।

उनी भन्छन्, ‘कहिल्यै पनि समयमा गाडी पाइँदैन । सार्वजनिक सवारीको नाममा त्यही एउटा निलो माइक्रो चल्छ, त्यो पनि उतैबाट भरिएर अटिनअटि आउँछ । हामी बिच बाटोबाट चढ्नेले त कहिल्यै भन्ने बित्तिकै गाडी पाउँदैनौँ ।’

निलो माइक्रोको ठाउँमा एउटा बस हालिदिएको भए पनि आफूहरूलाई धेरै सजिलो हुने उनले बताए ।
आफू विगत ६,७ वर्षदेखि झुन्डिएर, कोच्चिएर यात्रा गरेको दिलकुमारी कार्की बताउँछिन् । उनले भनिन्, ‘हामी पहिला स्कुल पढ्दा पनि यसरी नै झुन्डिएर, कोच्चिएर जान्थ्यौँ, कलेज पनि त्यसै गरी पढेर सक्कायौँ, अहिले अफिस जाँदा पनि यी यसरी नै हिँड्नुपर्या छ ।’

मानवता देखाउने ठाउँ नरहेको बताउँदै उनी भन्छिन्, ‘यहाँ त निलो माइक्रो आयो कि अरूलाई ठेल्दै आफू सुरुमा पस्नुपर्छ नत्र त गाडी भरी हाल्छ अनि पस्न नै पाइँदैन त्यसपछि फेरी अर्को गाडीलाई १५,२० मिनेट पर्खनुपर्छ । त्यसमा पनि त्यही हो जसको शक्ति उसको भक्ति अरू चढ्छन् अनि म चढ्छु भनेर बस्यो भने त समय यही बित्छ आफूहरूले यो समस्या दिनहुँ झेल्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

दिनहुँ यात्रा गर्ने सर्वसाधारण यात्रुहरूको समस्या जति नै बढे पनि समाधानको पक्षमा सरकारको ध्यान जान सकेको छैन । उक्त रुटमा सार्वजनिक सवारीको रूपमा निलो माइक्रो मात्र चल्ने भएकाले चालकको दादागिरी मौलाएको यात्रुहरूले बताएका छन् ।