विवादमा किन तानिए बालेन
१७ भाद्र २०८०, आईतवार २०:५५
काठमाडौं :काठमाडौंका मेयर बालेन साह फेरि विवादमा तानिएका छन्। हिजो राति ९ बजेतिर पत्नी सविना काफ्ले महानगरको गाडीमा अस्पतालबाट फर्कंदै गर्दा कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेपछि मेयर साहले फेसबुकमा स्टाटस लेखेका थिए।
भोलिपल्टदेखि महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाउने चेतावनी उनले दिएका थिए। उक्त अभिव्यक्तिको विरोध भएपछि आज बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको छ।
साहका स्वकीय सचिव भुपदेव साहले विज्ञप्तिमा जनाएअनुसार हिजो बेलुकी ७ बजे सुत्केरी अवस्थामा रहेकी मेयर साहकी पत्नी महानगरपालिकाको सरकारी गाडीमा अस्पताल गएकी थिइन्।
यो घटनासँगै सविनाले एक साताअघि मेडिसिटी अस्पतालमा छोरीलाई जन्म दिएको खुलेको छ। स्वास्थ्य परीक्षण र एनआईसीयुमा रहेको शिशुलाई स्तनपान गराई फर्किने क्रममा ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा अनावश्यक केरकार गरेको विज्ञप्तिमा भनिएको छ।
नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक भएको आरोप लगाइएको छ।
‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे। सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’, के हो रु कहाँ हो रु भनेको थियो’‚ विज्ञप्तिमा भनिएको छ, ‘कर्तव्यपालनका क्रममा मादकपदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारीसाधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो। प्रहरीबाट गरिएको व्यवहार असभ्य, निन्दनीय तथा खेदजनक छ।’
आपत्कालीन अवस्थाका बारेमा जवाफ दिँदा पनि ‘मैले चाहेँ भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ। यो विषयमा गृहमन्त्रालयले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिई समाचार सम्प्रेषण गरेकोमा महानगरले खेद जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया