ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने – Nagarikabhiyan : National News

ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने

ललितपुर महानगरले कुस्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ । उक्त आकाशे पुल अपाङ्गतामैत्री हुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले गत आइतबार ललितपुर महानगरलाई पैदलयात्रुका लागि सडक वारपार गर्न आकाशे पुल निर्माणका लागि स्वीकृति दिएसँगै पुल निर्माणको बाटो खुलेको हो ।

महानगरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक वर्ष अघि उक्त स्थानमा पुल निर्माण गर्न सहमति माग्दै पत्राचार गरेको थियो । आठ मिटरभन्दा बढीको सडकमा स्थानीय सरकारको क्षेत्राधिकार हुँदैन । ललितपुर महानगरले केही दिनभित्र आकाशे पुल निर्माणका लागि टेण्डर आह्वान गर्ने जनाएको छ ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको उक्त स्थानमा सडक वारपार गर्न आकाशे पुल अत्यावश्यक भएको बताए । उनले भने उक्त स्थान सुरक्षाका दृष्टिले अति नै जोखिमपूर्ण छ गएको एक वर्षमा छ सात जनाको ज्यान गइसक्यो ।

कुसुन्तीको यातायात व्यवस्था कार्यालय नजिकैको चक्रपथमा पुल निर्माण गरिनेछ । महानगर प्रमुख महर्जनले ढिलै भए पनि आकाशे पुल निर्माणका लागि स्वीकृति दिएकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई धन्यवाद दिए । शौचालयको समेत व्यवस्था हुने यो पुल टफन ग्लासबाट निर्माण गरिनेछ । यो ग्लास पारदर्शी हुन्छ ।

महानगर प्रमुख महर्जनले महानगरले निर्माण गर्ने यो पुल उपत्यकाकै पहिलो भएको दाबी गरे । उनले भने आकाशे पुल त धेरै छन् तर ती पुलहरु अपाङ्गतामैत्री, ज्येष्ठ नागरिकमैत्री छैन, बिरामी अशक्तले प्रयोग गर्न सक्ने पुल बनेका छैनन्, पुल चढेपछि थकाई लाग्छ, यो पुलबाट सडक वारपार गर्दा थकाई लाग्दैन । ललितपुर महानगरले निर्माण गर्न लागेको यो पुल देशकै नमुना आकाशे पुल हुने उनले दाबी गरे ।

पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले प्राविधिक दृष्टिले कुसुन्तीमा निर्माण हुने पुल अब्बल हुने स्पष्ट पारे । उनका अनुसार करिब चार करोड बराबरको लागत अनुमानमा पुल निर्माण हुनेछ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने इन्जिनियर महर्जनले बताए ।