समाजवादी मोर्चा समयको बर्बादी मात्रै नहोस्ं – Nagarikabhiyan : National News

समाजवादी मोर्चा समयको बर्बादी मात्रै नहोस्ं

गएको असार ४ गते नेपालमा तीन कम्युनिष्ट पार्टी र एक समाजवादी पार्टीबीच ‘समाजवादी मोर्चा’ घोषणा भयो । ‘समाजवादको नेपाली बाटो’ तय गर्ने लक्ष्यका साथ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीच ‘समाजवादी मोर्चा’ घोषणा भएको हो ।

हरबखत नयाँ प्रयोगको सिद्धान्तलाई उधिनिरहेको नेपाली राजनीतिले कम्युनिष्ट र गैरकम्युनिष्ट दलबीच ‘मोर्चा’ निर्माण भएसँगै जनमानसमा पनि एक खालको सन्देहमूलक र प्रश्नवाचक उद्गार देखा परेको छ । संभवतः समाजवादी मोर्चाको विशेषता, कठिनाइ र प्रश्न पनि एउटै हो – फरक विचार, दृष्टिकोण र राजनीतिक कार्यदिशा अँगाल्ने पार्टीहरूबीचको मोर्चाबन्दी कहिलेसम्म टिक्ला रु

यो यक्ष प्रश्नको उत्तर अहिले नै भेटिंदैन । मोर्चामा आबद्ध दलहरूबीचको सहकार्यले भविष्यमा कस्तो स्वरूप ग्रहण गर्ला रु त्यसैमा उक्त प्रश्नको उत्तर अन्तरनिहित छ । तथापि राजनीतिमा गरिने अनेकन् प्रयत्नमध्ये समाजवादी मोर्चा निर्माणको प्रयत्नलाई पनि एउटा असल नियत सहितको प्रयत्न भने मान्न सकिन्छ । किनकि ‘जुट’को प्रयत्न ‘फुट’को नियतिभन्दा सही नै हुन्छ । त्यसैले समाजवादी मोर्चामा आबद्ध दलहरूको यो राजनीतिक सहकार्यलाई अस्वीकार गरिहाल्नुपर्ने आवश्यकता छैन ।

तथापि अहिलेको जल्दोबल्दो चासोको विषय बनेको हाम्रो अर्थराजनीति सुहाउँदो समाजवादी राज्यव्यवस्थाको मोडेल कस्तो हो रु के भयो भने समाजवाद हुन्छ रु संविधानको प्रस्तावनामा परिकल्पना गरिएको समाजवाद, दलहरूले भन्ने गरेका समाजवाद र जनताले अपेक्षा गरेको शासनसत्ता एउटै हो रु यी केही प्रश्नको भने सामना गर्नैपर्छ ।

समाजवादी मोर्चामा आबद्ध दलहरूले मुलुकको नयाँ संविधान २०७२ ले परिकल्पना गरेको ‘समाजवादउन्मुख अर्थ–राजनीति’को ‘रोडम्याप’ तयार गर्नकै लागि ‘समाजवादी मोर्चा’ निर्माण गरेको दाबी गरेका छन् । समाजवादी मोर्चाको घोषणापत्रको प्रस्तावनामा मोर्चा गठनको उद्देश्य पुष्टि गर्ने प्रयत्न गर्दै भनिएको छ– ‘देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूको एकताबद्ध पहलकदमी आवश्यक रहेकोले संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका बाँकी कामहरूको पूर्णता र संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने ।’

त्यसैले आजको आवश्यकता र अपरिहार्यता अनुभूति गरेर नेपाली परिवेश सुहाउँदो समाजवादी राज्यव्यवस्थाको स्वरूप र बाटो तय गर्ने आफैंमा पवित्र लक्ष्य नै हो । तथापि संसदीय अभ्यासमा रहेका तीन दल र संसदीय व्यवस्था विरुद्ध संघर्ष गरिरहेको विद्रोही शक्ति नेकपालाई जोड्ने रसायनबारे भने चौतर्फी अनभिज्ञता प्रकट गरिएको छ ।