बलियो छाप रहेको पाकिस्तानलाई के नेपालले हराउनै नसक्ने हो – Nagarikabhiyan : National News

बलियो छाप रहेको पाकिस्तानलाई के नेपालले हराउनै नसक्ने हो

ललितपुर :एसिया कप क्रिकेट प्रतियोगिता बुधबार शुरु हुँदैछ। उद्घाटन खेलमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३स्१५ बजे पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा शुरु हुनेछ।

पहिलोपटक सहभागी भएको नेपाललाई जति महत्त्वपूर्ण छ, त्यो भन्दा बढी विश्व क्रिकेट इतिहासमा बलियो छाप रहेको पाकिस्तानका लागि छ। जित हार जे नतिजा भए पनि नेपालका लागि त्यो स्वाभाविक मानिएला तर पाकिस्तानका लागि जित महत्त्वपूर्ण हुनेछ।

अन्तराष्ट्रिय क्रिकेट परिषद्आ इसीसी को एकदिवसीय विश्व वरियतामा १५ औँ स्थानमा रहेको नेपालका लागि केही दिनअघि मात्र अफगानिस्तानलाई हराएर विश्व वरीयताको पहिलो स्थानमा पुगेको पाकिस्तानसँग खेल्न त्यत्ति सहज छैन। विश्वस्तरका ब्याट्स्म्यान र बलर रहेको पाकिस्तानका लागि घरेलु मैदान र घरेलु दर्शकको साथ अर्को फाइदाको विषय बनेको छ।

तीव्र गतिको बलिङलाई भन्दा स्पीन बललाई सहज हुने मुल्तानको पिच ब्याट्स्म्यानका लागि रन बनाउन पनि सहज हुने देखिन्छ। झण्डै कीर्तिपुरको त्रिवि मैदान जस्तै भएकाले नेपालका लागि रन बनाउन र अनुकुलित भएर खेल्न सहज हुने अनुमान गर्न सकिन्छ।

टस जितेको खण्डमा पहिले ब्याटिङ गरेर कम्तीमा ३२० भन्दा बढी रन बनाउन सके नेपालका लागि सहज हुने देखिन्छ। किनकी यतिको लक्ष्य दिएमा नेपाली स्पिनर सन्दीप लामिछाने या ललित राजवंशीले पाकिस्तानी ब्याटरलाई थोरै थोरै रनमा आउट गर्न सक्ने सम्भावना देखिन्छ। किनकी मैदान फास्ट बलरलाई भन्दा स्पिनरलाई फाइदा दिने खालको छ। यस्तोमा अरु बलरले पनि राम्रो नतिजा नल्याउलान् भन्न सकिन्न। पाकिस्तान फाष्ट बलरको हतियार बोकेको टिम हो।

अर्कोतर्फ एसिया कपको २ पटक उपाधि विजेता पाकिस्तानी टिमसँग पर्याप्त अनुभव छ भने तुलनात्मक रूपमा नेपालसँग त्यस्ता अन्तराष्ट्रिय जगतका अनुभव कम छ।

विश्व क्रिकेट जगतमै तहल्का मच्चाएका कप्तान बाबर आजम, इमाम उल हक र फाकर जमान जस्ता अनुभवी ब्याट्सम्यानले भरिएको पाकिस्तान नेपालको जीतका लागि तगारो बन्न सक्छ। फाकर र इमामको ओपनिङ जोडीलाई नेपाली बलरले वेलैमा तोड्न सकेनन् भने त्यो घातक सिद्ध हुनसक्छ।

फेरि पाकिस्तानका अन्य ब्याट्सम्यानले पनि कमजोर छैनन्। तल्लो ब्याटिङ क्रममा आउने उपकप्तान सदाब खान हुन या मध्यक्रममा क्रिज सम्हाल्ने मोहम्मद रिजावन, आघा सलमान र इफ्तिकार अहमदलाई पनि कमजोर आँक्न मिल्दैन।

त्यसो त नेपाली खेलाडीलाई पनि ब्याटिङमा कमजोर मान्न मिल्दैन। पछिल्लो समयका प्रदर्शन हेर्ने हो भने नेपालका ओनर ब्याट्सम्यानदेखि अन्तिममा ब्याटिङ गर्न आएका बलरसम्मले राम्रै रन हान्न थालेको अभ्यास भइसकेको छ।