आईसीसीले भन्यो– गुल्शन झा एसिया कपमा चम्किन सक्ने खेलाडी – Nagarikabhiyan : National News

आईसीसीले भन्यो– गुल्शन झा एसिया कपमा चम्किन सक्ने खेलाडी

काठमाण्डाै – भोलि बुधवारदेखि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुल्शन झा पनि परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा नेपालका गुल्शन झालाई पनि राखेको हो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकाले गुल्शनलाई कम आँक्न नहुने आईसीसीले उल्लेख गरेको छ । मुख्य प्रतियोगितामा गुल्शनले झन् राम्रो प्रदर्शन गरेका र उनको विशेषता नै आक्रामक तरिकाले खेल्नु रहेको उल्लेख छ । विपक्षीविरुद्ध मध्य ओभरमा गुल्शनलाई बलिङमा ल्याउँदा उनले रनरेट घटाइदिन सक्ने आईसीसीले उल्लेख गरेको छ ।

आईसीसीले गुल्शनलाई एसिया कपमा चम्किन सक्ने खेलाडीको रूपमा वर्णन गरेको छ । उत्कृष्ट प्रदर्शन गर्न सक्ने बाँकी पाँच खेलाडीमा पाकिस्तानका बाबर आजम, भारतका जसप्रिम बुमराह, बङ्गलादेशका तस्किन अहमद, अफगानिस्तानका राशिद खान र श्रीलङ्काका महीश थीकशना रहेका छन् ।

१६ औँ संस्करणको एसिया कप भोलिदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले मुल्तान मैदानमा पाकिस्तानसँग खेल्दैछ । पाकिस्तान अहिले एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा छ । दोस्रो खेलमा नेपालले १८ गते सोमवार भारतसँग खेल्नेछ ।