कार्यकक्षमै किन थुनिए नेपाल संस्कृत विश्वविद्यालयका सचिव अधिकारी
१ भाद्र २०८०, शुक्रबार १९:५८
दाङ – नेपाल संस्कृत विश्वविद्यालयका कुल–सचिव माधव अधिकारी कार्यकक्षमै थुनिएका छन् । शैक्षिक गतिविधि समयमै सञ्चालन गर्न नसकेको, विद्यार्थीको समस्यामा बेखबर बनेको भन्दै केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनल आज शुक्रवार कुल–सचिव अधिकारीलाई तीन घन्टा कार्यकक्षमा थुनेका हुन् ।
४० दिनमा प्रकाशित गर्नुपर्ने परीक्षाफल सबै प्रक्रिया पूरा हुँदा पनि प्रकाशित नगरेका कारण आजको आन्दोलन गर्नुपरेको स्ववियु सदस्य पारस गिरिले बताउनुभयो । कुल–सचिव अधिकारीले भने विद्यार्थी सबै प्रक्रियाका बारेमा जानकार नहुँदा आजको घटना भएको बताउनुभयो ।
आयुर्वेद चिकित्सातर्फ सातौँ सेमेस्टरको परीक्षाफल परीक्षा शुरु भएको ४० दिनभित्र प्रकाशित गर्नुपर्ने नियम रहेको समयमै प्रकाशित नहुँदा प्रयोगात्मक अभ्यासमा ढिला भएको स्ववियुले जनाएको छ । स्ववियु र विश्वविद्यालयबीच भएको छलफलमा भदौ १५ गते परीक्षाफल प्रकाशित गर्ने सहमति भएको छ ।
दुई महिनाअघि विश्वविद्यालयका तीन ठाउँमा लागेको ताला खुलेको एक हप्ता नहुँदै आज फेरि यो घटना भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया