माओवादी केन्द्रीय सदस्यलाई निर्देश, प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोस्ट गर्नू – Nagarikabhiyan : National News

माओवादी केन्द्रीय सदस्यलाई निर्देश, प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोस्ट गर्नू

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामका बारेमा जनतालाई सूचित गर्न सबै केन्द्रीय सदस्यले सामाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोस्ट गर्न निर्देशन दिएको छ।

आइतबारसम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको प्रतिरक्षामा जोड दिनेगरी बिहान र बेलुका गरी दिनमा कम्तीमा दुईवटा ‘स्टाटस’ पोस्ट गर्नुपर्ने निर्णय गरेको हो।

त्यस्ता पोस्ट सार्वजनिक मिडियामा समाचार बन्ने सक्ने गरी कम्तीमा छ–सात लाइनको हुनुपर्नेछ। माओवादीले पार्टीका सबै सदस्यलाई मर्यादित रूपमा पार्टीको पक्षमा सामाजिक सञ्जालमा सक्रिय हुन सर्कुलर’ गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

स्टाटस वा पोष्ट लेख्दा सभ्य र मर्यादित भाषाको प्रयोग गर्नुपर्ने, अरूको आलोचना र नकारात्मक टिप्पणीभन्दा आफ्ना नीति र उपलब्धिको प्रचारमा जोड दिनुपर्ने माओवादीले जनाएको छ। यस्तै पार्टी केन्द्रीय कार्यालय र प्रधानमन्त्रीको सचिवालयले उत्पादन गरी पठाएका प्रचार सामग्री स्टाटस, अडियो, भिडियो, ग्राफिक्स डिजाइन प्रत्येक केन्द्रीय सदस्यले अनिवार्य पोष्ट गर्नुपर्ने माओवादीको निर्णय छ।

माओवादीले प्रचार तथा प्रकाशनसम्बन्धीको कामलाई व्यवस्थित बनाउन पार्टीको जनसंगठनको रूपमा रहने गरी व्यावसायिक सङ्गठनको ढाँचामा आइसिटी फोरम नेपाल बनाएर केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको संरचना बनाउने भएको छ। आगामी भदौ मसान्तसम्म आइसिटी फोरम नेपालको केन्द्रीय भेला गरी सम्मेलन आयोजक समिति गठन गरिनेछ।