यसरी भएको थियो युवकको हत्या, दुई जना प्रहरी खोरमा – Nagarikabhiyan : National News

यसरी भएको थियो युवकको हत्या, दुई जना प्रहरी खोरमा

२०साउन देवानगंज – विहिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित बन्द नदीको बगरमा एकको शव फेला प¥यो। शवलाई गाडिएको अवस्थामा स्थानीले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले पहिचान नखुलेको शव नदी किनारको बगरमा गाडेको अवस्थामा फेला पारेको थियो। शवको आधा भाग सडेको अवस्थामा समेत फेला परेको थियो।

प्रहरीले शवलाई बाहिर निकालेर मुचुल्का समेत तयार ग¥यो। प्रहरीले शवको विषयमा स्थानीयसँग सोधीखोजी गर्दा कृष्णपुर नगरपालिका–२ बाणीको नवदुर्गा टोलका प्यारु दमाईको छोरा करिब ३५ वर्षीय कुबेर दमाई हले भएको खुलेको छ। उनी केहिदिन बेपत्ता थिए। शव हलेको नै हो होइन भनेर उनी दीदी नाता पर्ने सत्या दमाईले घटनास्थलमा पुगेर मृतक कुबेर दमाई हले नै भएको बताएपछि शवको पहिचान गर्न सहज भएको प्रहरीले जनाएको छ।

त्यसपछि शवलाई परीक्षणको लागि महाकाली प्रादेशिक अस्पतालमा पठाइएको थियो। मृतक हले साउन १५ गतेदेखि बेपत्ता थिए। मृतक समय समयमा घरबाट निस्कनुका साथै १÷२ दिनपछि आफै घर फर्किने गरेका कारण तत्काल खोजीकार्यका लागि प्रहरीमा निवेदन नदिएको मृतककी आमा प्रेमजला दमाईले बताएकी छन्।

त्यस्तै शुक्रबार इलाका प्रहरी कार्यालय झलारीबाट पुनः खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा भरत दमाईको छोरा मृतकको सहोदर भतिज नाता पर्ने २२ वर्षीय अजय दमाई र सोहि स्थानका भरत दमाईको छोरा मृतकको सहोदर भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।