सिंहदरबारमा जरा गाडेर बसेका २६ कर्मचारीलाई मधेसका स्थानीय तहमा खटाउँदै मन्त्री मोदी
१९ श्रावण २०८०, शुक्रबार १०:३६
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले सिंहदरबारमा जरा गाडेर बसेका २६ कर्मचारीलाई मधेस प्रदेशका स्थानीय तहमा खटाएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्यमा झार्दै उनले सिंहदरबारमा अखडा जमाएर बसेका कर्मचारीहरूलाई मधेस प्रदेशमा सरुवा गरेका हुन् ।
पदभार ग्रहण गरेदेखि नै निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियानमा लागेका मन्त्री मोदीले मधेस प्रदेशका सबै स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमुक्त बनाएका हुन् । यो सँगै मधेस प्रदेश अब निमित्त प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ ।
मधेस प्रदेशका विभिन्न स्थानीय तहमा अलग सेवा समूह, कृषि, वन, स्वास्थ्य, शिक्षा, प्राविधिक लगायतका क्षेत्रका कर्मचारीले प्रशासकीय अधिकृतको रूपमा कामकारबाही गर्दै आएका थिए । त्यस्तै नगरपालिकामा शाखा अधिकृत वा नायब सुब्बा स्तरका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए भने गाउँपालिकामा नायब सुब्बा, खरिदार तहका कर्मचारी प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए ।
मन्त्री मोदीले प्रावधानअनुसार नै नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत खटाएका छन् । मन्त्री मोदीले सिंहदरबारमा अखडा जमाएर बसेका कर्मचारीहरूलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएका छन् ।
निमित्तमार्फत सञ्चालन भइरहेको धनुषाको जनकनन्दि गाउँपालिकामा गृह मन्त्रालयमा कार्यरत शाखा अधिकृत उत्तम शर्मा, धनकौल गाउँपालिका सर्लाहीमा गृह मन्त्रालयकै गणेश गौतमसहित गृहका अन्य ६ जना शाखा अधिकृतलाई सर्लाहीका विभिन्न स्थानीय तहमा खटाएका छन् ।
त्यसै गरी सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा वर्षौँदेखि अखडा जमाएर बसेका १८ जना उपसचिवको पनि मधेस प्रदेशका स्थानीय तहमा सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव बेदराज फुयाँलको नराईन नगरपालिका धनुषा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत उपसचिव काजी बहादुर विष्टको विदेह नगरपालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लवराज जोशीको शहिदनगर नगरपालिका धनुषासहित सिंहदरबारका विभिन्न मन्त्रालयमा कार्यरत १८ जनाको उपसचिवको मधेस प्रदेशका विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।
यसअघि मधेस प्रदेशमा कोही पनि कर्मचारी जान नखोज्ने बेथिति थियो । मधेस प्रदेशमा सरुवा भएका कर्मचारीहरू हाजिर गर्न जान नखोज्ने र जनप्रतिनिधिले पनि हाजिर गर्न नदिनेजस्ता बेथितिले जरा गाडेको थियो । यहीबिचमा सुशासनको क्षेत्रमा नयाँ फड्को मार्ने गरी मन्त्री मोदीले यस्तो साहसिक निर्णय गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया