बर्दियामा स्थानियद्धारा वडा कार्यालयमा तालाबन्दी
१८ श्रावण २०८०, बिहीबार १८:५४
काठमाडौं । बर्दियाको राजापुर नगरपालिका वडा नं ७ का स्थानीयले वडा कार्यालय घेराउ गर्दै ताला लगाएका छन् । आफूहरूको धानबाली डुबानमा पर्दा वडा अध्यक्षले समाधानको आश्वासन मात्रै दिएको भन्दै स्थानीयले कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका हुन् ।
१०÷१२ वर्ष अघिबाट चलन चल्तीको झरना प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत बन्द गरिएकाले सो क्षेत्रमा २ सय बिगाहा बढी धानवाली डुबानमा परेको स्थानीयको गुनासो छ । आफूहरूको धानवाली डुबानमा पर्दासमेत सरकारले त्यसको रोकथामका लागि कुनै प्रयास नगरेको आरोप लगाउँदै उनीहरूले वडा कार्यालय घेराउ गर्न बाध्य भएको बताएका छन् ।
बर्खा याममा डुबान पर्ने भन्दै यस अघि समस्या समाधानका लागि न्यायिक समितिमा उजुरी दिँदा समेत कुनै सुनुवाइ नभएको स्थानीय नरजंग शाहीले बताए । उनले भने, ‘समस्या समाधानका लागी हामीले न्यायिक समितिमा उजुरी पनि दिँयौं तर कुनै सुनुवाइ भएन । वडा अध्यक्षले समस्या समाधान गर्छु भनेर आश्वासन मात्रै दिनुभयो तर कुनै पहल गर्नु भएन त्यसैले हामीले वडा कार्यालय घेरेका हौँ ।’
यस्तै, स्थानीय सुरेन्द्र चौधरीले मागहरू सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । स्थानीयहरूले वडा कार्यालय घेराउ गरे पनि वडा अध्यक्षले आफू वडा कार्यालय आउन नसक्ने भन्दै पन्छिएको आरोप लगाएका छन् ।
यता वडाअध्यक्ष रामु थारुले न्यायिक समितिले समस्या समाधान गर्ने भनेर खबर आएको र न्यायिक समितिमार्फत समस्या समाधान गरिने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया