सुन प्रकरणमा छानबिन समिति गठनको आवश्यकता नरहेको मन्त्री शर्माको तर्क
१८ श्रावण २०८०, बिहीबार १८:३२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, सुन प्रकरणमा छानबिन समिति गठन गर्न आवश्यक नरहेको बताएकी छिन् । बुधवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
सरकारले नचाहेको भए सुन समात्न नसक्ने भन्दै उनले यस प्रकरणमा सरकारले छानबिन गरिरहेको अवस्थामा थप छानबिन समिति बनाउँदा सरकारको अनुसन्धानमा प्रभाव पर्ने तर्क गरिन् । उनले भनिन् ‘सरकारले नचाहेको भए सम्भवत यो सुन समातिने थिएन् । यो सुन प्रकरण पनि हुने थिएन् । त्यसैले सरकारले नै छानबिन गरिरहेको अवस्थामा थप छानबिन समिति बनाउने कुराले सरकारको अनुसन्धान प्रक्रियामा प्रभाव पर्छ ।’
उनले सुन प्रकरणको विषयमा अनुसन्धान विभागले गम्भीर अनुसन्धान गरिरहेको बताइन् । ‘सुन प्रकरणको विषय प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले एयरपोर्टबाट ठुलो मात्रमा सुन बरामद गरेको छ । र त्यसको बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढिरहेको छ ।’ उनले भनिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया