युवकलाई पोलमा बाँधेर कुटपिट गर्ने एकजना पक्राउ – Nagarikabhiyan : National News

युवकलाई पोलमा बाँधेर कुटपिट गर्ने एकजना पक्राउ

रौतहट : रौतहटमा एक युवकलाई वडाध्यक्षकै अगाडि बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गर्ने एकजना पक्राउ परेका छन्।

घटनाको भिडियो सार्वजनिक भएपछि मौखिक उजुरीका आधारमा प्रहरीले स्थानीय साजिद अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिए।

जिल्लाको सदरमुकाम गौर नगरपालिका–३ का २० वर्षीय प्रिन्स अन्सारीलाई स्थानीयले आइतबार दिउँसो ४ बजेतिर वडाध्यक्ष अब्दुल ताहिरकै अगाडि बाँधेर कुटपिट गरेका थिए।

गत शुक्रवार आइसक्रिम खाने विषयमा गाँउका स्थानीय साजिद अन्सारीका छोरा सोनु अन्सारीसँग प्रिन्सको सामान्य विवाद भएको थियो। ​पीडितका दाजु अलियास अन्सारीका अनुसार आइतबार घरमा कोही नभएको बेला पारेर हाकिम अन्सारी साजिद अन्सारी सोनु अन्सारी आश मोहमद अन्सारी सहितको समूहले दिउँसो ४ देखि साढे ५ बजेसम्म बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका थिए। उनीहरूले अन्सारीलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले मरणासन्न हुने गरी पिटेको पीडित युवकका दाजु अलियास अन्सारीले बताए।

‘भाइलाई पोलमा बाँधेर कुटपिट गर्नेलाई कारबाही होस्,’ उनले भने, ‘मेरो भाइलाई पशु जस्तै बाँधेर आक्रमण गरिएको छ। घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको माग गरेको छु। बिजुलीको पोलमा बाँधेर आफ्नो भाईलाई कुटपिट गरिरहँदा वडाध्यक्ष अब्दुल ताहिर त्यहीँ भएर रोक्न नचाहेको उनले गुनासो गरे।

यो विषयमा वडाध्यक्ष ताहिरसँग सम्पर्क गर्न खोज्दा उनको फोन अफ थियो। सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा वडाध्यक्ष ताहिर प्रिन्सलाई कुटपिट गरेको ठाउँमै उभिएर मौन बसेको देखिन्छ। घटनापछि पक्राउ परेका अन्सारीलाई छुटाउन वडाध्यक्ष ताहिर स्वयं प्रहरी कार्यालयमा पुगेको दाजु अलियास अन्सारीले बताए।

घटना मिलापत्रका लागि अहिले आफूलाई पीडकले आर्थिक प्रलोभन दिएको तर आफूहरूलाई पैसा नभएर न्याय चाहिएको अलियासले बताए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी यादवले पीडितको जाँच गरी उपचारको प्रक्रिया अघि बढाइसकेका छौँ। अब मंगलबार लिखित जाहेरी दिने अलियासले बताए।