गाउँपालिकाले हटायो ५७ करारका कर्मचारी
१६ श्रावण २०८०, मंगलवार १०:१७
खोटाङ :दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ।
अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उहाँहरु सबैलाई हटाएर नयाँ नियुक्त गर्नेगरी कार्यपालिकाबाटै निर्णय पारित गरिएको गाउँपालिकाका प्रमुख लोकन्द्र राईले जानकारी दिनुभयो।
‘हामीले कसैलाई काखा र कसैलाई पाखा गरेका छैनौँ। अधिकांश करारका कर्मचारीको अभिलेखसमेत छैन। अभिलेख भएका र नभएका सबैलाई हटाउने निर्णय गरेका छौँ’, उनले भने, ‘५० वर्ष नाघेका करारका कर्मचारीलाई प्रतिव्यक्ति रु पाँच लाख र त्योभन्दा मुनिका कर्मचारीलाई ४५ दिनको सेवासुविधा दिनेगरी हटाइएको छ। उमेरले भ्याउने करारका कर्मचारीले अब खुलाइने विज्ञापनमा समेत आवेदन दिनसक्ने व्यवस्था मिलाएका छौँ।’
गाउँकार्यपालिकाको सोमबार बसेको बैठकले करारमा कार्यरत सबै कर्मचारी हटाएको गाउँपालिकाले जनाएको छ। करारमा कार्यरत सबै कर्मचारी हटाइएसँगै नयाँ नियुक्ति लागि प्रक्रियासमेत अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईले जानकारी दिए।
सात वडा रहेको उक्त गाउँपालिकामा ६४ स्थायी कर्मचारीको दरबन्दी रहेपनि छैटौँ तहका अधिकृत दुई, वडा सचिव पाँचजना, प्राविधिक पाँचजना, एकजना लेखापाल, एकजना कम्प्युटर अफ्रेटर, शिक्षा शाखामा दुईजना प्राविधिक सहायक, स्वास्थ्य शाखामा एकजना अनमी र महिला तथा बालबालिका शाखामा एकजना महिला सहायकमात्र स्थायी रहेका छन्।
गाउँपालिकामा आवश्यक दरबन्दी अनुसारको कर्मचारीका लागि सम्बन्धित निकायमा माग गरिएपनि अहिलेसम्म सम्बोधन हुन नसकेको गाउँपालिकाका प्रमुख राईले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया