नेदरल्याण्ड्ससँग अमेरिका १(० ले पछाडि
११ श्रावण २०८०, बिहीबार ०८:०१
काठमाडौं : फिफा महिला विश्वकपमा समूह ‘ई’ अन्तर्गत अहिले अमेरिका र नेदरल्यान्ड्सबीचको खेल जारी छ।
न्युजिल्याण्डको स्काई स्टेडियममा जारी खेलको पहिलो हाफमा साविक बिजेता अमेरिकालाई नेदरल्याण्ड्सले १–० ले पछाडी पारेको छ। नेदरल्याण्ड्सकी जिल रुड्सले १७औँ मिनेटमा उत्कृष्ट गोल गरिन्।
अमेरिकाले समूह चरणको पहिलो खेलमा भियतनामलाई ३–० गोलले पराजित गरेको थियो। नेदरल्यान्ड्सले भने पोर्चुगलमाथि १–० को जित हात पारेको थियो ।
यस बाहेक विश्वकपमा आज अरु दुई खेल हुदै छन्। समूह ई मा रहेका पोर्चुगल र भियतनाम पनि आजै खेल्दैछन्। न्युजिल्यान्डको ह्यामिल्टनमा खेल दिउँसो सवा एक बजे सुरु हुनेछ। दुवै टोली विश्वकपमा पहिलो जितको खोजीमा छन्। पहिलो खेलमा पोर्चुगल नेदरल्यान्डससँग १–० गोलले पराजित भएको थियो। भियतनाम अमेरिकासँग ३–० ले हारेको थियो।
विश्वकपको सहआयोजक अस्ट्रेलियाले आज समूहको दोस्रो खेलमा अफ्रिकी राष्ट्र नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ। ब्रिस्बेनमा हुने यो खेल नेपाली समयअनुसार अपरान्ह पौने चार बजे सुरु हुनेछ।
अस्ट्रेलियाले पहिलो खेलमा रिपब्लिक अफ आयरल्यान्डमाथि १–० गोलको संघर्षपूर्ण जित हात पारेको थियो। नाइजेरियाले पहिलो खेलमा ओलम्पिक च्याम्पियन क्यानडालाई गोलरहित बराबरीमा रोकेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया