ललितपुर र काठमाडौँमा गाडीको ठक्करबाट तीनको मृत्यु, दुई घाइतेको उपचार चल्दै – Nagarikabhiyan : National News

ललितपुर र काठमाडौँमा गाडीको ठक्करबाट तीनको मृत्यु, दुई घाइतेको उपचार चल्दै

काठमाडौँ :ललितपुर र काठमाडौँमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

ललितपुर महानगरपालिका १५ हात्तीवन पुल नजिक बा ३ ख ४१०८ नम्बरको बसले बा ५६ प ३४५२ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको पहिचान खुलेको छैन। बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यता काठमाडौँ महानगरपालिका ३१ शान्तिनगरस्थित सडकमा बा १ ह ३८८४ नम्बरको टेम्पुको ठक्करबाट पैदलयात्री मकवानपुर थाहा नगरपालिका १ घर भई काठमाडौं शान्तिनगर बस्ने ३८ वर्षीय रामभक्त श्रेष्ठको मृत्यु भएको छ।

गएराती भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वर हुँदै बिएण्डबी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।

साथै उक्त टेम्पुको ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीमध्ये १ जनाको केएमसी अस्पताल सिनामंगल र १ जनाको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ। टेम्पु चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।