खलङ्गा–तिङ्कर सडक पहिरोले भत्किएपछि व्यासमा उत्पादित तरकारी बारीमै कुहियो – Nagarikabhiyan : National News

खलङ्गा–तिङ्कर सडक पहिरोले भत्किएपछि व्यासमा उत्पादित तरकारी बारीमै कुहियो

दार्चुला –दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ ।
असार दोस्रो हप्तादेखिको वर्षाका कारण यो सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि व्यासमा उत्पादित आलु ढुवानी गर्न नसकिँदा खेतबारीमै कुहिन थालेको कृषक हरिश धामीले बताउनु भएको छ ।

व्यास गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएको कृषि उत्पादन खेतबारीमा कुहिन थालेपछि किसान चिन्तित भएका छन् ।
सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषिउपजको ढुवानीमा समेत सहयोग गर्नुपर्ने व्यासका कृषकको भनाइ छ । जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडले उत्पादन गरेको आलु खेतबारीमै कुहिन थालेको गाउँपालिकाको कृषि शाखाका प्रमुख विश्वेश्रप्रसाद बडूले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेको छ सय क्विन्टल आलु खेतबारीमा कुहिन थालेको छ । एक सय क्विन्टल आलु खेतबाट निकालेको तथा पाँच सय क्विन्टल आलु खेतबारीबाट निकाल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।