श्रीमानलाई सजायको माग गर्दै न्यायाधीशकी श्रीमती अनसनमा  – Nagarikabhiyan : National News

श्रीमानलाई सजायको माग गर्दै न्यायाधीशकी श्रीमती अनसनमा 

काठमाडौँ । आफ्नै श्रीमानलाई सजायको माग गर्दै आरती गिरी अनसनमा बसेकी छिन् । उनी काठमाडौँको माइतीघर मा धर्ना दिएर बसेको २७औँ दिन भइसक्यो ।

श्रीमान् न्यायाधीश भुवन गिरीले आफूलाई वैवाहिक बलात्कार गरेको र यातना दिएको भन्दै उनी यस विरुद्ध राज्यको ध्यानाकर्षण गराएर श्रीमानलाई सजाय दिलाउन अनसन बसेको बताउँछिन् । २०७९ मङ्सिर १ गते मध्यरातमा श्रीमान् गिरीले आफ्नो घाटी थिचेर मार्न खोजेको उनले बताइन् ।

त्यस लगत्तै आफू भागेर मङ्सिर २ गते कपिलवस्तु जिल्ला कार्यालयमा मुद्दा दर्ता गर्न गएको बताउँछिन् । तर त्यहाँ मुद्दा दर्ता नभएपछि आफूले मानव अधिकार सम्बन्धित विभिन्न संस्था तथा निकायहरूसँग आफ्नो अवस्था सुनाएको बताइन् । उनी भन्छिन्, ‘मलाई यौन शोषण गर्न मात्र विवाह गर्यो र अहिले मेरो ज्यानको पछि परेको छ । प्रहरीहरू सबै ऊ सँग नै मिलेको छ त्यसैले मुद्दा दर्ता गर्दा पनि प्रहरीबाट मिल्नको लागी दबाब दिन्छन् ।’

आफ्नो सुरक्षा र न्यायको लागी सबै ढोका ढकढक्याउँदा पनि कसैले केही गर्न नसकेको उनको गुनासो छ । उनलाई श्रीमानले खुला चुनौती दिँदै आफू न्यायाधीश भएको, आफूलाई कुनै कानुन नलाग्ने र कसैले केही गर्न नसक्ने भन्दै धम्की दिएको बताइन् । आफू अनसन बसेको ठाउँमा पनि केही शङ्कास्पद व्यक्तिहरू आउने भन्दै उनले राज्य समक्ष आफ्नो सुरक्षाको माग समेत गरेकी छिन् ।

बारम्बार मुद्दा फिर्ताको दबाब दिँदा पनि मुद्दा फिर्ता नलिएपछि नेपालगन्जमा श्रीमानले आफू विरुद्ध उल्टै मुद्दा हालेको बताइन् । ‘मलाई बारम्बार मुद्दा फिर्ताको लागी दबाब दिन्थ्यो तर मैले फिर्ता नलिएपछि मलाई उल्टै नेपालगन्जमा किर्ते कागज, सम्बन्ध विच्छेद, गाली व्यइजत लगायतको मुद्दा लगाएछ । आफ्नो पदीय शक्तिको दुरुपयोग गर्दै मलाई २५ दिन हिरासतमा पनि बसायो ।’

न्यायाधीश भुवन गिरीलाई चाँडो भन्दा चाँडो पक्राउ गरी कडा कारबाही गरियोस् भन्दै उनले आफूलाई न्याय दिलाउन सरकार समक्ष माग राखेकी छिन् ।