मुक्त नभए काँग्रेसले भावी चुनौती सामना गर्न नसक्ने
२ श्रावण २०८०, मंगलवार १८:१४
काठमाडौँ :नेपाली काँग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ। मंगलवारको पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो।
प्रतिवेदन बुझाइसकेपछि बोल्दै काँग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसके आगामी दिनमा आउन सक्ने चुनौती सामना गर्न काँग्रेसले नसक्ने चेतावनी दिए।
उनले नेपाली काँग्रेसलाई आन्तरिक रूपबाटै सुदृढ बनाउन नसके विभिन्न आयाममा देखिएका विभिन्न खाले समस्या समाधान गरेर पार्टीका अवयवलाई क्रियाशील र गतिशील बनाउन नसकिने बताए।
उनले भने, ‘हामीले जेठ महिनाभर देशव्यापी रूपमा पार्टी रूपान्तरण अभियान सञ्चालन गर्यौँ। हामीलाई लागेको कुरा( पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसके पार्टीले आगामी चुनौती सामना गर्न सक्दैन। पार्टीका आन्तरिक अव्यवस्था हटाउन सकेनौँ भने हामी अघि बढ्न सक्दैनौँ। काँग्रेसलाई आन्तरिक रूपबाटै सुदृढ बनाएर विभिन्न खाले समस्या समाधान गरी पार्टीका अवयवहरूलाई क्रियाशील र गतिशील बनाएर भ्रातृ संगठनलाई व्यवस्थित बनाई समग्र रूपबाट पार्टीको रूपान्तरण गर्न सकेनौँ भने काँग्रेसका चुनौती समाधान गर्न सक्दैनौँ। हामीले पार्टी सभापतिलाई बुझाउने कोसिस गरेका थियौँ, पार्टी सभापतिको अवस्थाका कारण हामीले भेट गर्न सकेनौँ तर पार्टी मुख्यसचिवमार्फत बुझाएका छौँ।’
काँग्रेस रूपान्तरण अभियानले गत जेठ ११ देखि ३१ गतेसम्म सातै प्रदेशमा भेला गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया