राप्ती अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
२ श्रावण २०८०, मंगलवार ०९:३९
दाङ : शान्तिनगर गाउँपालिका २ का मेघराज डाँगीले घरमा पालेको कुकुरले पटक पटक गरी गाउँका तीन बच्चालाई टोक्यो। कुकुरले टोकेपछि रेबिजविरुद्ध खोप लगाउन उनले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याए।
शुरुमा उनले निःशुल्क खोप लगाएको भए पनि असारको पहिलो हप्ता फेरि अर्का बच्चालाई टोकेपछि खोप लगाउन आउँदा खोप पाएनन्।
उनले निजी अस्पतालबाट साढे ६०० का दरले तीन वटा खोप किनेर ल्याएर लगाए। सरकारी निःशुल्क रूपमा दिएको खोप निजी अस्पतालबाट किनेर ल्याउनेमा डाँगी मात्र नभइ विगत डेढ महिनादेखि अस्पतालमा सेवा लिन आउनेहरू छन्।
यसरी सरकारले निःशुल्क रुपमा दिदैँ आएको खोप किनेर ल्याउनु पर्ने भएपछि उनीहरूले सरकारी अस्पतालमा आउनुको औचित्य नभएको गुनासो गरे। लामो सम्म यसरी खोप उपलब्ध गराउन नसक्नु राज्यको कमजोरी भएको भन्दै यसतर्फ ध्यान दिनु पर्ने समेत बताउँछन्।
पछिल्लो समय अस्पतालहरूमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डेढ महिनादेखि भ्याक्सिन अभाव रहेको अस्पतालले जनाएको छ। पटकपटक भ्याक्सिनका लागि माग फाराम भरेर पठाए पनि अझै आउन नसकेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा ओम अर्यालले बताए अस्पतालमा भ्याक्सिन नहुँदा बिरामीलाई निजी अस्पताल पठाउनु पर्ने बाध्यता रहेको उनको भनाइ छ।
रेबिज विरुद्धको भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाइन्छ। तर, सरकारी अस्पतालमै भ्याक्सिन अभाव भएपछि निजी अस्पताल पठाउनु पर्छ। निजी अस्पताल पठाउँदा एउटा भ्याक्सिनलाई ७०० रुपैयाँसम्म पर्छ। पछिल्लो समय निजी अस्पतालमा पनि भ्याक्सिन अभाव हुने गरेको छ। निजी अस्पतालहरूले पनि प्राप्त मात्रामा भ्याक्सिन राख्न नमिल्ने बताउँछन्। केही इमरजेन्सीको लागि मात्र भ्याक्सिन राखिने उनीहरूको भनाइ छ। प्रादेशिक अस्पताल तुलसीपुरमा १० दिनमा करिब ३०० भ्याक्सिन खपत हुने गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया