पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न
२७ असार २०८०, बुधबार ०८:२५
काठमाण्डौ –मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ४० प्रतिशत काम सकिएको छ ।
परियोजनाअन्तर्गत दोस्रो चरणको काम हालसम्म करिब ४० प्रतिशत सकिएको र बाँकी काम तीव्ररूपमा अघि बढेको नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमबाट बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण भइरहेको प्रमुख उपाध्यायले बताउनुभयो ।
त्यसै परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्टयाउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्ष निर्माणको कामअघि बढेको उहाँको भनाइ छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने गरी लिखिता इनफ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ । यसै परियोजनाअन्तर्गत निर्माण हुन लागेको दुई पेट्रोल ट्याङ्कमध्ये एउटा नेपाल आयल निगम र अर्को ट्याङ्क भारतीय आयल निगमको लागतमा निर्माण भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया