पशुपतिको जलहरी परीक्षणको काम सकियो
११ असार २०८०, सोमबार ०६:४७
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको जलहरी निकालेर सुनको गुणस्तर र तौल परीक्षण गरेको छ ।
जलहरीमा तोकिएको परिमाण भन्दा कम सुन राखिएको र गुणस्तर पनि कम भएको भन्दै उजुरी परेपछि अख्तियारको टोलीले जलहरी निकालेर पशुपति क्षेत्रमा गुणस्तर तथा तौल परीक्षण गरेको हो ।
हिजो बेलुकीदेखि शुरु भएको परीक्षण राति अबेर मात्रै सकिएको छ । अहिले अनुसन्धानका क्रममा रहेकाले परीक्षणबाट प्राप्त विवरण गोप्य रहने र अनुसन्धान टुङ्गोमा पुगिएपछि सार्वजनिक हुने अख्तियारले जनाएको छ ।
तौल तथा गुणस्तर जाँचका लागि अख्तियारले सुनचाँदी व्यवसायी सङ्घका पदाधिकारी एवं विज्ञका साथै खानी तथा भूगर्भविभागका अधिकारीहरु र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई समेत सहभागी गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया