सिन्धुपाल्चोकको मेलम्चीमा ‘बेलिब्रिज’ निर्माण
७ असार २०८०, बिहीबार ०९:२०
काठमाण्डौ – सिन्धुपाल्चोकको तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ बनाउन सुरु भएको छ ।
नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ बनाउन थालिएको नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईंले जानकारी दिनुभयो ।
बर्खामा स्थानीय नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले बेलिब्रिज बनाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको झण्डै दुई हप्तामा बेलिब्रिज बनाउने काम सकिने छ ।
मेलम्चीपारिको वडा नम्बर ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने बेलिब्रिज बनेपछि स्थानीयबासिन्दाले प्रत्यक्ष लाभ लिने छन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको रुट’ का रूपमा समेत यो सडकलाई प्रयोग गर्न सकिन्छ ।
२०७८ साल असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा त्यहाँका बासिन्दाले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् ।
हिउँदको समयमा ह्युमपाइप राखेर सडक खुलाए पनि बर्खा लागेसँगै समस्या भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया