संखुवासभा बाढी अपडेट बेपत्तामध्ये एकजनाको शव भेटियो
४ असार २०८०, सोमबार २२:०२
संखुवासभा : संखुवासभामा बाढी पहिरोले बेपत्ता भएका २१ जनामध्ये एकजनाको शव भेटिएको छ। सोमबार चैनपुर नगरपालिका–१० निगुरेमा एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।
सुपर हेँवा हाइड्रोपावरबाट बेपत्ता भएका एकजना पुरुषको शव फेला परेको डिएसपी गोदारले बताए। फेला परेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाढी पहिरोले जिल्लाका विभिन्न स्थानका ११ घरमा क्षति गरेको छ भने एक दर्जनभन्दा बढी घर परिवार विस्थापित भएका छन्।
शनिबार राति वर्षाका कारण आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २१ जना बेपत्ता भएका थिए। बेपत्ता २१ जनामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना मजदुर छन्।
बाढीले सभापोखरीमा २ जना, चैनपुरको नुनढाकीमा १ जना र अपर हेँवाखोला हाइड्रोपावरका एकजना मजदुर अझै बेपत्ता छन्। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।
चैनपुर नगरपालिका(४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढीले तीनवटा पक्की पुलमा क्षति गरेको छ। बाढीले भौतिक संरचना बगाउँदा करोडौं रुपैयाँ बराबरको क्षतिको भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया