बाढी पहिरो ६ जनाको ज्यान गयो, २९ जना बेपत्ता अपडेट – Nagarikabhiyan : National News

बाढी पहिरो ६ जनाको ज्यान गयो, २९ जना बेपत्ता अपडेट

काठमाण्डौ –  अविरल वर्षाका कारण जेठ ३१ गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परेर आज सोमवार दिउँसोसम्म छ जनाको ज्यान गएको छ बाढी र पहिरोमा परेर सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी छ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक जना बालिका रहेका छन् ।

बाढी र पहिरोमा परेर सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी छ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । बाढी र पहिरोमा परेर सङ्खुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँच गरी २९ जना बेपत्ता अझै बेपत्ता भएका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुबेर बडायतले बताउनुभयो । बेपत्ताको खोजी भइरहेको पनि उहाँले बताउनुभयो ।

बाढी र पहिरोका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६७ वटा पशुचौपाया मरेका छन् यस अवधिमा विपद्का घटनाबाट ९७ परिवार विस्थापित भएका छन् । साथै बाढी र पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा राख्ने, बाटोको अवरोध हटाउनेलगायतका काम भइरहेको प्रहरीले जनाएको छ ।