शिकारीले मारे चितवन राष्ट्रिय निकुञ्जमा ४ गैँडा
२२ कार्तिक २०७७, शनिबार १६:५३
चितवन । साउनयता चितवन राष्ट्रिय निकुञ्जमा शिकारीले मारेका ४ गैँडा फेला परेका छन् । १२ मध्ये ४ गैँडा शिकारीका कारण र ८ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् ।
अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन् । दुई महिनाअघि निकुञ्जको पश्चिममा पर्ने लौखानी नजिक बाँदरझुला टापुमा एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताएका छन् ।
टाउकामा गोली लागेको गैँडाको खाग, खुर भने सुरक्षित रहेको थियो । हालै मात्र सोही क्षेत्रमा माउ र बच्चा गलेका अवस्थामा फेला परेका थिए । दुवैको खाग तस्करले लगेको उनको भनाइ छ । एउटै समयमा तस्करको आक्रमणको निशानामा तीन वटै गैँडा परेको अनुमान गरिएको छ ।
माउ र बच्चाको खाग लगेको भए पनि अर्को गैँडाको सुरक्षित रहेको छ । यस्तै गएको बिहीबार निकुञ्जको पश्चिम क्षेत्रमै एउटा गैँडाको अस्थिपञ्जर फेला परेको थियो । झण्डै ६ महिनाअघि तस्करले मारेर खाग लगेको हुन सक्ने बरालले बताए ।
सो गैँडा गत आर्थिक वर्षमा मारिएको निकुञ्ज अधिकारीको अनुमान छ । निकुञ्जमा शिकारीले ४ वर्षयता गैँडा मार्न सकेका थिएनन् । विसं २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारेयता प्राकृतिक कारणले मात्र गैँडा मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए । निकुञ्जमा शिकारीबाट गैँडा मारिन थालेपछि वन तथा वातावरण सचिव डा.विश्वनाथ ओलीले शुक्रबार निकुञ्जमा आएर आवश्यक निर्देशनसमेत दिएका छन् ।
बरालले भने, ‘हामीले दक्ष जनशक्ति माग गरेका छौँ ।’ सचिव ओलीले चोरी शिकार नियन्त्रणका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । एकाएक शिकारीले गैँडा मारेपछि सरकारको ध्यानाकर्षण भएको छ । प्रमुख संरक्षण अधिकृत बरालले नयाँ रणनीति बनाएर चोरी शिकार नियन्त्रणका लागि काम अघि बढाएको जानकारी दिए ।
निकुञ्ज कर्मचारी, नेपाली सेना, स्थानीय बासिन्दा सबै संरक्षणमा जुटेमा दुर्लभ एकसिङ्गे गैँडा बचाउन सकिने उनको भनाइ छ । निकुञ्जले गस्ती बढाएको छ भने सुराक सञ्जाललाई चुस्त बनाएको छ । सन् २०१५ को गणनानुसार नेपालमा ६४५ गैँडा थिए । यिमध्ये गैँडाको मुख्य बासस्थान चितवनमा मात्रै ६०५ गैँडा भेटिएका थिए । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८-५९ मा मरेका थिए । सो वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा शिकारीले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया