बाढीले दुई वटा विद्युतगृह बगाएपछि ताप्लेजुङको याम्फुदिनमा अन्धकार – Nagarikabhiyan : National News

बाढीले दुई वटा विद्युतगृह बगाएपछि ताप्लेजुङको याम्फुदिनमा अन्धकार

ताप्लेजुङ – वर्षासँगै आएको बाढीले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनको विद्युतगृह बगाएपछि गाउँ नै अन्धकार भएको छ । शुक्रवार अस्ति राति परेको वर्षासँगै आएको बाढीले दुई वटा विद्युतगृह बगाएपछि याम्फुदिन पूरै अन्धकार भएको हो ।

तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको पावरहाउस विद्युतगृह  बाढीले बगाएको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले बताउनुभयो । गुरुङका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको विद्युतगृहमा समेत क्षति पुगेकाले अहिले याम्फुदिनमा बिजुली छैन ।

याम्फुदिनमा एक सय ७० घरपरिवार बसोबास गर्दै आएका छन् । शुक्रवार दुईवटा विद्युतगृह बाढीले बगाएसँगै गाउँ अन्धकार बनेको याम्फुदिन प्रहरी चौकीका इन्चार्ज प्रहरी हवलदार विनोद उरावले बताउनुभयो।