ढोरपाटनका बेपत्ता मेयरविरुद्ध सात सय ६८ वटा उजुरी – Nagarikabhiyan : National News

ढोरपाटनका बेपत्ता मेयरविरुद्ध सात सय ६८ वटा उजुरी

बाग्लुङ – केही दिनयता जिल्ला प्रहरी कार्यालय बागुलुङको परिसरमा भिड छ । कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक डीएसपी  मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारी पीडितका गुनासो सुन्नमै व्यस्त हुनुहुन्छ ।

पीडितले दिएका निवेदन लिने र दर्ता गर्ने उहाँहरूको दैनिकी बनेको छ । बाग्लुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध अहिलेसम्म सात सय ६८ वटा उजुरी परेका छन् ।

ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपाली जेठ ५ गतेदेखि सम्पर्कमा छैनन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई गएको वैशाख ९ गते गृह मन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । अहिलेसम्म उनीहरू बेपत्ता छन् ।

‘नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानले खोजी गरिरहेको छ, तर कोही भेटिएका छैनन्’, डीएसपी केसीले भन्नुभयोे, ‘उजुरी गर्नेहरू राति ८ बजेसम्म लाइनमा हुन्छन्, केही दिन भयो हाम्रो कार्यालय भिडले भरिएको छ ।’

बचतकर्ताको दुई अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप नेपालीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले जेठ १६ गते उनीसहित पदाधिकारीले बचतकर्ताको अर्बौँ रकम अपचलन गरी सङ्गठित ठगी गरेकाले उनीहरूविरुद्व उजुरी लिन पत्राचार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । त्यसयता सोमवार बेलुकासम्म सात सय ६८ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै चार हजारभन्दा बढी सङ्ख्यामा बचतकर्ताको उजुरी आउनसक्ने अनुमान गरिएको केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म ८९ करोड ६६ लाख रुपैयाँ बचत रकम पाउनुपर्ने दाबी गरिएको छ । इमेज सहकारीको बाग्लुङ बजार, गलकोट र बुर्तिबाङमा गरी तीन वटा शाखा बाग्लुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ ।