प्रदेशको नाम ‘कोशी’ निल्नु न ओकल्नु
२९ जेष्ठ २०८०, सोमबार २२:३८
भूगोल र पहिचानको चेपुवामा परेको कोशी प्रदेशको नामकरण अघिल्लो प्रदेश सरकार र प्रदेशसभा आन्दोलन र बहसबीच थाँती राखेर बिदा भएका थिए।
अघिल्लो कार्यकालको पाँच वर्षमा तीनजना मुख्यमन्त्री पाएको प्रदेशले नाम नपाउँदा आलोचना र नाम राख्नैपर्ने दबाब बढेको थियो। त्यो समय केन्द्रको राजनीतिक उत्तरचढाव र नेतृत्वको खिचातानीले प्रदेशलाई पनि प्रभाव पारेको थियो।
सरकार ढाल्ने र बनाउने प्रक्रियासँगै ०७८ भदौ १० गते शेरधन राईले नैतिकताका आधारमा मुख्यमन्त्रीबाट राजीनामा दिए। राईले राजीनामा दिएलगत्तै मुख्यमन्त्रीमा एमालेकै भीम आचार्य नियुक्त भएका थिए।
पूर्वमुख्यमन्त्री राई प्रदेशको राजधानी राख्न सफल भए पनि नाम राख्न असफल बने। उनको कार्यकालमा नामका विषयमा छलफल थोरैबहुत भए तर सदनसम्म भने पुग्न सकेन। आचार्यले नामको विषय प्राथमिकतामा रहेको बताए पनि उनको नेतृत्वको सरकार ६७ दिनमा ढलेको थियो।
आचार्यपछि तेश्रो मुख्यमन्त्री बनेका राजेन्द्रकुमार राईको पनि प्राथमिकतामा प्रदेशको नाम नै परेको थियो। उनले मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि प्रदेशको नाम पहिलो प्राथमिकतामा रहेको बताएका थिए। सोहीअनुसार उनले कार्यकालको अन्तिम अवस्थामा नामको विषय छलफलमा ल्याए पनि सदनसम्म पुर्याउन भने सकेनन्।
नामको विषय मुख्यमन्त्री तथा मन्त्रिपरिषदभित्र चल्दै गर्दा यता पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग राख्दै पहिचान पक्षधर सडक आन्दोलनमा उत्रिन थाले। आन्दोलनकै बीच राई नेतृत्वको सरकार र प्रदेशसभाको कार्यकाल अन्त्य भएसँगै विदा भए।
अघिल्लो कार्यकालमा प्रदेशको नाम राख्न नसक्दा आलोचना बेहोरेको भन्दै दोश्रो कार्यकालका लागि प्रदेशसभा प्रतिनिधित्व गर्न आउने सांसदहरुले पहिलो प्राथमिकतामा प्रदेशको नाम रहेको अभिव्यक्ति दिएका थिए।
सोहीअनुसार शपथग्रहणका दिनदेखि प्रदेशको नाम राख्न प्रतिबद्ध रहेको प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले गोप्य ढंगमा प्रदेश १ लाई कोशी नाम दिन सफल भए।
कडा सुरक्षाको घेराभित्र नामको विषयमा छलफल हुँदै गर्दा बाहिर पहिचानसहितको नाम माग राख्दै पहिचान पक्षधर सडक आन्दोलनमा उत्रिएका थिए। जुन अहिलेसम्म निरन्तर आन्दोलनरत छन्।
कोशी प्रदेश नाम खारेजीको माग राख्दै भएको आन्दोलनमा आन्दोलनरत पक्ष र सुरक्षाकर्मीहरु दर्जनौंभन्दा बढी घाइते भएका छन्। आन्दोलनरत पक्षका एकजनाले ज्यानसमेत गुमाइसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया