श्रमदान मार्फत विकट गाउँको तिर्खा मेट्ने प्रयास – Nagarikabhiyan : National News

श्रमदान मार्फत विकट गाउँको तिर्खा मेट्ने प्रयास

२८ जेठ, दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मुस्लिम टोलकी अमिना खातुन एक गाग्रो पानी ल्याउन घण्टौं टाढा जानुपर्ने बाध्यता छ । पानी भर्न छिटो पालो पाउन राति बास नै बस्नुपरेको अनुभव उनीसँग छ । तर अब भने त्यो दुःख हट्ने विश्वास पलाएको छ ।

किनभने राप्ती गाउँपालिकाले घर–घरमै खानेपानीको धारा जोडिदिन सुरु गरेको छ । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका मुस्लिम टोलमा पानी पुर्याउन गाउँपालिका अध्यक्ष प्रकाश विष्ट आफैं पनि जनश्रमदानमा जुटेका छन् ।

सुगम गाउँपालिकाको दुर्गम वडा भनिने देवीकोटको मुस्लिम समुदायको सिंगो गाउँ छ । त्यहाँ ४३ घरधुरी छन् । सुक्खायाममा नजिकका पानीका स्रोत सुक्ने हुँदा करिब दुई घण्टा पैदल दुरीमा रहेको जरुवाको पानी भाँडामा भरेर ल्याउनुपर्ने बाध्यता छ ।

जरुवामा भेटिएकी रुपाकोटमा कक्षा सातमा अध्ययनरत आयशा खातुनका अनुसार पानी भर्दाभर्दै जरुवाको पानी सकिन्छ । पानी संकलन नहुन्जेल कुर्नुपर्छ र भाँडामा भर्नुपर्छ । उनी भन्छिन्, ‘त्यति दुःखले टाढाबाट ओसारेको पानी मान्छेले खाने कि गाईवस्तुलाई खुवाउने भन्नुपर्ने स्थिति छ ।’