प्रधानमन्त्रीको भारत भ्रमण राजनीतिक विषय पन्छाएर आर्थिक एजेण्डालाई प्राथमिकता – Nagarikabhiyan : National News

प्रधानमन्त्रीको भारत भ्रमण राजनीतिक विषय पन्छाएर आर्थिक एजेण्डालाई प्राथमिकता

प्रधानमन्त्रीको भारत भ्रमणलाई दुईवटा शिराबाट हेरौँ । अहिलेसम्म नेपाल भारत सम्बन्धमा राजनीतिक विषयले प्रमुखता पाइरहेको लामो समयदेखि हो । यसपटक राजनीतिक सम्बन्धका पाटाहरुको गरिमा घटेको र राजनीतिबाट क्रमशः अर्थ, वाणिज्यतर्फ सम्बन्ध केन्द्रित भएको देखिन्छ । राजनीतिमा हाम्रा सहमति र असहमतिका थुप्रै विषयहरु पनि थिए । असहमतिका कुरा नगरेको र सहमति हुनसक्ने सम्भावित विषय मात्र खोजेको जस्तो देखिन्छ । सामान्यतया राजनीतिक असहमतिका विषयलाई पछाडि धकेलेको विषयलाई हेर्ने हो भने आर्थिक हिसाबमा केही सकारात्मक देखिन्छ । राजनीतिक असहमति भएको विषय पछाडि टारेको देख्दा हाम्रो नेतृत्वले आफ्नो कालमा त्यो विषय उठाउन नखोजेको तथा पछाडि अरु कसैलाई पन्छाउन खोजेको देखिन्छ ।

यसपटक आर्थिक एजेण्डालाई प्राथमिकता दिइएको छ । तर, प्रधानमन्त्रीले यो तहको भ्रमणमा आफ्नो सहजताको मात्र कुरा गरिरहने हो भने अथवा राष्ट्रिय हिसाबले हामीले समाधान गर्नैपर्नै, पर्गेल्नै पर्ने विषयवस्तुहरु आफ्नो प्रतिकूलता हुन्छ भनेर पर सार्दै गयौँ भने राजनीतिक सम्बन्धमा हामीबीच आउनुपर्ने सुधार पनि पछाडि धकेलिँदै जान्छ ।

आर्थिक पाटोमा जाने हो भने मूलतः विद्युत् व्यापारको पाटोमा यदि गरिएका सम्झौता कार्यान्वयन भए भने यो हाम्रा लागि ुब्रेक थ्रुु हो । विद्युत् व्यापारमा गरिएको जुन प्रतिबद्धता थियो दश हजार मेगावाट बिक्छ, चालिस, पचास मेगावाट बङ्लादेश जाने बाटो दिन्छ, नेपालका परियोजनामा लगानी गर्छ, नेपालबाट लाने ट्रान्समिसनमा लगानी गर्छ भने र बनाउने भन्ने जुन तहको सहमति भयो यो कार्यान्वयन हुँदा हाम्रो विद्युत् व्यापार मात्र होइन हाम्रो अर्थतन्त्रको संरचनालाई प्रभावित गर्ने समझदारी हो । किनकि हामी भारतसँग सधैँ व्यापार घाटामा छौँ । निर्यात गर्ने चिज एकदम कम छ । विद्युत् निर्यातले त्यो व्यापार घाटा घटाउने कुराले यहाँ भित्रको अर्थतन्त्रको संरचनालाई एक किसिमले परिवर्तन गर्ने बाटो खुलेको छ । त्यो विषयमा प्रशंसा गर्नलायक समझदारी हो ।

अर्कोतर्फ लामो समयदेखि बङ्लादेशले हामीसँग बिजुली किन्न खोजेको र उसले बाटो नपाएको ठाउँमा भारतको बाटो हुँदै थोरै मात्रामा भए पनि टोकन अमाउण्टकारुपमा भए पनि बाटो जाने कुरा सुरु भएको छ त्यसकारण तेस्रो देशमा जानसक्ने विद्युत् निर्यातको बाटो खुलेको छ । यसले हामीसँग उत्पादन गर्ने सामर्थ्य भएको चिज बेच्न सक्ने बाटो खोलेका छौँ जसले हाम्रो व्यापार घाटा घटाउने एकदम ठूलो बाटो खोलेको छ यदि सहमति कार्यान्वयन हुन्छ भने ।

पारवहनको हिसाबले ुब्रेक थ्रुु होइन

पारवहन र व्यापार सम्झौताको हिसाबले महत्त्वपूर्ण ब्रेक थ्रु भन्नु भएको छ प्रधानमन्त्रीले तर, पारवहनको हिसाबले भने यो ब्रेक थ्रु होइन । पारवहन सन्धि हामीसँग थियो । चार वर्ष अगाडिदेखि हामीले नवीकरण गर्न सकेका थिएनौँ त्यसलाई नवीकरण गरेका छौँ र एउटा के कुरा थपेका छौँ भने हामीले इस्टर्न कोस्टबाट आइरहेको कुरालाई वेस्टर्नकोस्टबाट आउने बाटो खोलेका छौँ । त्यसो हुँदा आउने समय, अवधि सबै घट्छ त्यो अर्थमा पारवहन सन्धि पनि उपलब्धिमूलक नै छ । तर त्योभन्दा बढी चाहिँ विद्युत् व्यापार सम्झौता र त्यसमा आउने लगानी चाहिँ अझ बढी महत्त्वपूर्ण ब्रेक थ्रु हो हाम्रो लागि ।

सीमा समस्या समाधानको कुरा भारतीय प्रधानमन्त्रीले कुरा उठाउँदा पनि राजनीतिक तहमा त्यो विषय प्रवेश गर्यो । अब विषय कसरी टुङ्गिन्छ भन्ने आधारमा त्यो उपलब्धि हो कि होइन भन्ने हो । विषय प्रवेशमा हामीले दाबी गर्दै आएका कुरामा हामी टिक्न नसक्ने गरीको समझदारीमा पुग्यो वा विषय प्रवेश गरेर यो लम्बिँदै मात्र गयो भने यसलाई उपलब्धि भन्न सकिँदैन । यो उपलब्धि होइन । राजनीतिक तहमा विषय प्रवेश भयो । मूलतः भारतीय नेतृत्वले विषयमा प्रवेश गर्ने काम गर्यो । त्यसलाई सकारात्मकरुपमा लिन सकिन्छ । तर, अहिले नै उपलब्धि भयो भन्ने होइन ।

ईपीजी प्रतिवेदन र अग्निपथको विषयमा हामीले कुरा उठाउनु पर्ने थियो । यो कुराको स्वामित्व ग्रहण गरेर यसलाई निर्क्योलमा पुर्याउन प्रधानमन्त्री लाग्नुपर्थ्यो । अहिले यो हाम्रो महत्त्वपूर्ण राजनीतिक मुद्दा भएकोले त्यो उहाँको जिम्मेवारी पनि थियो ।

तर, उहाँको आफ्नो आन्तरिक कारण, उहाँको भारतसँगको सम्बन्धको कारण यो विषयलाई पर धकेल्नुभयो, पर्गेल्नुभयो यसकारण यो भने उपलब्धि होइन । उसले चाहेको ठाउँमा र सम्झौता हुने ठाउँमा मात्र कुरा गरेर आउनु चाहिँ उपलब्धि होइन । लगानी आदि ठाउँमा उसले बाटो खोलेको छ । भारतले चाहे जस्तो मात्र भएको छैन । यो सम्झौता लागू हुँदा आर्थिक क्षेत्रमा हाम्रा हितका कुराहरु पनि प्रशस्त भएका छन् । त्यसलाई नजरअन्दाज गर्न सकिँदैन । तर, मूल राजनीतिक मुद्दालाई पछाडि सारेर अर्कोको टाउकोमा राखेर आफू जोगिने कुराले राजनीतिक विषयहरु चाहिँ यथावत् नै रह्यो ईपीजीको सन्दर्भमा । ईपीजीले धेरै कुरालाई मार्ग प्रशस्त गर्छ । हिजो भएका असमान सन्धिका कुरालाई मार्ग प्रशस्त गर्छ । त्यो कुरालाई नउठाउनु भनेको राजनीतिक विषय थाँती राख्नु हो ।