बुटवलमा मोटरसाइकल र बस ठोक्किँदा दुई जनाको ज्यान गयो – Nagarikabhiyan : National News

बुटवलमा मोटरसाइकल र बस ठोक्किँदा दुई जनाको ज्यान गयो

देवानगञ्ज –

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ तामनगरमा हिजो बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

बुटवलबाट कपिलवस्तु जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवल आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरको कोरियन टेक्निकल कलेज नजिक ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको ज्यान गएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परि घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएको हो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।